काठमाडौं । नेपाली इलेक्ट्रीक दुईपांग्रे उत्पादक कम्पनी यात्रीले इलेक्ट्रीक स्कुटर उत्पादनको काम थालेको छ । कम्पनीले २०८० को पहिलो त्रैमासमा आफ्नो तेस्रो उत्पादन बजारमा ल्याउने तयारीका साथ काम सुरू गरेको हो ।
यसअघि यात्रीले लिमिटेड एडिशन ‘पी ०’ र रेगुलर मोडल ‘पी १’ विक्री गर्दै आएको छ । कम्पनीले तेस्रो उत्पादनका रुपमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी थालेको हो ।
कम्पनीका अनुसार इलेक्ट्रीक स्कुटरको नाम ‘पी २’ राखिने छ । यात्रीले तयार पारेको लिमिटेड एडिशन पी-० हो भने, मास मार्केट मोडल पी-१ हो ।
यात्रीले पी-२ लाई नेपालकै पहिलो स्मार्ट इलेक्ट्रीक स्कुटरको रूपमा ल्याउने भएको हो ।
कम्पनीले यात्रीको पी-२ को बारेमा अन्य जानकारी भने बाहिर ल्याएको छैन् । यात्रीका सीईओ बत्सल पाण्डेका अनुसार अबको ४ महिनामा पी-२ सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
यात्री पी-२ इलेक्ट्रीक स्कुटर को मूल्य ४ लाखभन्दा कम हुने अनुमान गर्न सकिन्छ । यात्रीले आफ्नो भिजनमा पी-२ लाई सबै नेपालीको पहुँचमा पुर्याउने उल्लेख गरेको छ ।
त्यस्तै, कम्पनीले पी-१ मोटरसाइकललाई अपग्रेड गरेर बजारमा ल्याउने भएको छ । यसको मुख्य अपग्रेड रेन्जमा हुन लागेको हो ।
यसअघि ११० किलोमिटर रेन्ज दिने पी-१ अपग्रेड भएर २०० किमि रेन्ज दिनेगरी आउन लागेको हो ।