काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी जिली अन्तर्गतको इलेक्ट्रीक ब्राण्ड जिकरले सिंगल चार्जमा १०३२ किलोमिटर रेन्ज दिने ‘जिकर-००१’ मोडल सार्वजनिक गरेको छ ।
रेन्ज धेरै पाउने बनाउन जिकरले यसमा १४० किलोवाट आवर क्षमताको ‘सिएटीएएल क्यूलिन ब्याट्री’ दिएको छ । यसको रेन्ज भने सिएलटीसीले प्रमाणित गरेको हो । चिनियाँ एजेन्सी भएको कारण धेरैले सिएलटीसीको रिजल्टलाई पूर्णरुपमा विस्वास गर्दैनन् । यद्यपि, सिएलटीसीले यसलाई ११२ किलोमिटर प्रतिघन्टाको स्पीडमा परिक्षण गरेको जनाएको छ ।
जिकर-००१ ले कम्तीमा ८०५ किलोमिटर रेन्ज सडकमा नै दिने विभिन्न रिपोर्टहरुले दावी गरेको छ । कम्पनीले यसलाई दुई ब्याट्री अप्सनमा ल्याएको छ । जसमा १०० किलोवाट आवरको ब्याट्री अप्सन पनि पाउन सकिन्छ । १०० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ७४१ किलोमिटर रेन्ज पाउने सिएलटीसीले प्रमाणित गरेको छ ।
रेन्ज धेरै भएपनि जिकर-००१ को मूल्य आकर्षक छ । अन्य ब्राण्डले ल्याएका ईभीको तुलनामा यो सस्तो लाग्छ । यसको १०० किलोवाट आवर क्षमताको ब्याट्री भएको गाडीले ४२ हजार ७५० अमेरिकी डलर र लङ रेन्जको मूल्य ५७ हजार ४२६ डलर तोकिएको छ ।
सिएटीएलले बनाएको थर्ड जेनेरेशन ब्याट्री यसमा उपलब्ध छ । प्रिज्म्याटीक लिथियम आयोन सेलबाट यसको ब्याट्री प्याक निर्माण गरिएको हो ।

