जिकर एक्सको नेपाल यात्रा ठप्प, नयाँ मोडलले फर्काउला बजारमा

काठमाडौं । नेपाली बजारमा विद्युतीय कारको बिक्री तीव्र गतिमा बढिरहेका बेला चीनमा राम्रो बजार बनाएका केही ब्राण्ड भने नेपालमा संघर्ष गरिरहेका छन् । आर्थिक वर्ष २०८२/८३ मा यस्तो संघर्ष गर्ने ब्राण्डको सूचीमा जिकर सबैभन्दा अगाडि देखिन्छ ।

जिकर ब्राण्डको उत्पादनमा प्राविधिक समस्या भएर बजार कमजोर पाएको होइन । बरू समस्या बजारको माग, मूल्य निर्धारण, गाडीको आकार, ब्राण्डको पोजिसनिङ र बिक्रेताको बजार रणनीतिसँग जोडिएको देखिन्छ ।

आर्थिक वर्ष २०८२/८३ मा नेपाली बजारमा जिकर ब्राण्डको गाडी नै आयात हुन सकेनन् । अझ रोचक पक्ष त के छ भने, नेपालमा ईभीको बजार विस्तार भइरहँदा पनि चीनमा स्थापित र प्रिमियम सेग्मेन्टमा राम्रो उत्पादन मानिएको जिकरले अपेक्षा अनुसारको बजार बनाउन सकेन ।

नेपालमा अहिले चिनियाँ ईभी ब्राण्डको संख्या तीव्र गतिमा बढिरहेको छ । बीवाइडी, एमजी, ओमोडा/जेको, जीडब्लूएम, दीपल लगायतका ब्राण्डले बजारमा आफ्नो उपस्थिति बलियो बनाइरहेका छन् । यही भीडमा जिकर भने आफ्नो अलग पहिचान स्थापना गर्न नै मुस्किल अवस्थामा पुग्यो ।

जिकर एक्स : उत्पादन राम्रो, तर मूल्य र बजारको गणित मिलेन

पायोनियर मोटोकर्प मार्फत नेपाल भित्रिएको जिकर एक्सलाई जिली ग्रुपको प्रिमियम विद्युतीय उत्पादनका रूपमा हेरिएको थियो । शक्तिशाली मोटर, आकर्षक डिजाइन, आधुनिक प्रविधि र स्पोट्र्स कारको अनुभव दिने ड्राइभिङ पर्फमेन्सका कारण जिकर एक्सले नेपाली ईभी बजारमा फरक प्रभाव पार्ने हाम्रो पनि अनुमान थियो ।

तर, अपेक्षाअनुसार बजार विस्तार गर्न नसकेपछि जिकर एक्सको आयात नै रोकिएको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा जिकर एक्सको नयाँ आयात हुन सकेन ।

यसको प्रमुख कारणमध्ये मूल्य र गाडीको आकारलाई लिन सकिन्छ । नेपालमा जिकर एक्सको मूल्य सार्वजनिक हुँदा ८४ लाख ९९ हजार रुपैयाँ तोकियो । त्यसपछि क्रमशः घटाउँदै लगेर ६५ लाखमै पनि बिक्री भयो । यसले उपभोक्ता झस्किए ।

उपभोक्ताको एउटा समूह पहिलेदेखि नै ‘सानो आकारको गाडीका लागि धेरै मूल्य तिर्नुपर्ने’ बताउँदै आएको थियो । यद्यपि, नेपालमा कायम मूल्यबाट सरकारी कर हटाउने हो भने जिकर एक्सको मूल्य चीनको बजारसँग धेरै फरक नरहेको देखिन्छ ।

उपभोक्ताको नजरमा मूल्यको तुलना कर हटाएर होइन, अन्तिम खरिद मूल्यसँग हुने गर्छ । यही कारण जिकर एक्सले आफूलाई प्रिमियम ईभीका रूपमा स्थापित गर्न खोजे पनि त्यसका लागि आवश्यक बजार आधार बनाउन सकेन ।

अर्कोतर्फ, नेपालमा ईभी किन्ने उपभोक्ताको ठूलो हिस्सा अहिले पनि मूल्य, रेन्ज, गाडीको आकार र बिक्रीपछिको सेवामा बढी केन्द्रित छ । यस्तो बजारमा जिकर एक्सले दिएको प्रिमियम ड्राइभिङ अनुभव र उच्च पर्फमेन्स मात्र पर्याप्त हुन सकेन ।

अहिलेसम्म कति आयात भयो ?

पायोनियर मोटोकर्पले जिकर ब्राण्ड आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक गरेको थियो । सुरूमै ३२ युनिट आयात गरेर बिक्री सुरू भएको जिकर एक्स त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा ४० युनिट आयात भएको थियो ।

गत आर्थिक वर्ष २०८२/८३ मा एक युनिट पनि आयात नभएको जिकर एक्स थप युनिट ल्याउने तयारीमा कम्पनी देखिएको छैन ।

नयाँ मोडल ल्याउने योजना बन्दै

आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जिकरले स्टल बुकिङ गरेको छ । अहिले आयात नै नभएको मोडल देखाउन पक्कै यो स्टल बुकिङ भएको होइन होला ।

सम्भवतः कम्पनीले नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारी गर्दै स्टल बुकिङ गरेको हुनुपर्छ । जिकर ‘सेभेन एक्स’ मोडल अहिले पनि केही राइट ह्याण्ड ड्राइभ बजारमा बिक्री हुँदै आएको छ । त्यसैले हाम्रो बजारमा यो नयाँ एसयूभी आउन सक्ने देखिन्छ ।


Back_to_top