स्थानीयवासी अग्रसर भएसँगै सडक कालोपत्रे

पाल्पा । रामपुरका स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे गरिएको छ । 

रामपुर नगरपालिकाको बेझाड बजारदेखि इलाका प्रहरी कार्यालय हुँदै देवीस्थान जोड्ने ८५० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो । 

यहाँका स्थानीयवासीको २३ लाख ८६ हजार रुपैयाँ बराबरको जनसहभागितामा सो सडक कालोपत्रे गरिएको छ । सडक कालोपत्रेका लागि रामपुर नगरपालिकाले ५५ लाख ६७ हजार ५०० रुपैयाँ विनियोजन गरेको थियो । 

स्थानीयवासीको जनसहभागिता र नगरपालिकाको सहयोग गरी जम्मा ७९ लाख ५३ लाख ६०० रुपैयाँ बराबरको लागतमा सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर रानाले जानकारी दिए । 

अहिले नगरपालिकाभित्र सडक निर्माणलाई प्राथमिकतामा राखेर वडागत र नगरस्तरिय योजना धमाधम सञ्चालन भइरहेको छ । कच्ची सडकलाई ग्राबेल गर्ने, सानो सडकलाई फराकिलो बनाउने, पक्की सडक भएको ठाउँमा नाली बनाउने जस्ता कामहरू अगाडि बढ्दै गएको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए । 


Back_to_top