नाडा अटो शो २०१९ नयाँ कार लञ्चको हिसावले निकै चर्चा बटुल्न सफल भएको छ भने, नयाँ आएका कारले अवलोकनकर्तालाई आकर्षण समेत गर्न सफल भएका छन् ।
यस वर्ष अटो शो लक्षीत ६ कारले सबैभन्दा बढी चर्चा बटुल्न सफल भएका छन् । जसमा हुन्डाई भेन्यू, टोयोटा र्याभफोर हाइब्रिड, मारुती सुजुकी एक्सएल ६, महिन्द्रा एक्सयूभी ३००, टाटा एच ५ र जीप कम्पास ट्रायलहकले सबैभन्दा बढी चर्चा पाउन सफल भएका छन् ।
अटो शोमा आफ्नो टेक्नोलोजी, उत्पादन र स्टाइलले चर्चामा आएका ६ कारको बारेमा हामीले यहाँ उल्लेख गरेका छौं ।
हुन्डाई भेन्यू

हुन्डाई मोटर्सको चर्चित सबकम्प्याट एसयूभी भेन्यू नाडा अटो शोमा सर्वाधिक चर्चित सबकम्प्याक एसयूभी भएको छ । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले भेन्यू अटो शोमा शोकेस गरेको हो ।
भेन्यू तीन इन्जिन अप्सनमा आएको छ । जसमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ । १.० लिटर टर्बो कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड अटोमेटीक र म्यानुअल ट्रान्समिशन दिइएको छ ।
भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।
भेन्यूको अगाडि आफ्नो चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरेको छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु रहेको छ । भेन्यू भारतकै पहिलो स्मार्ट कनेक्टेड गाडीसमेत हो । यसमा दिइएको ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न सकिन्छ । ३३ स्मार्ट कनेक्टेड फिचर रहेका छन् ।
पेट्रोल भेरियन्ट १।२ लिटर कापा इन्जिनमा दुई भेरियन्ट उपलब्ध रहेको छ । जसमा इ भेरियन्टको मूल्य ३४ लाख ९६ हजार र एस भेरियन्टको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यस्तै १।० लिटर टर्बो इन्जिनमा तिन भेरियन्ट उपलब्ध रहेको छ जसमा एस भेरियन्टको मूल्य ४१ लाख ९६ हजार, एसएक्स भेरियन्टको मूल्य ४८ लाख ९६ हजार र टप भेरियन्ट एसएक्स ९ओ० को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै अटोमेटिक भेरियन्ट दुई अप्सनमा उपलब्ध रहेको छ । जसमा एस भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र एसएक्सको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले १।४ लिटर डिजेल इन्जिनलाई दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा एस भेरियन्टको मूल्य ४२ लाख ५६ हजार र एसएक्सको मूल्य ४८ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।
महिन्द्रा एक्सयूभी ३००

महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा सार्वजनिक गरेको एक्सयूभी ३०० निकै चर्चित रहेको छ । कम्पनीले आफ्नो सबकम्प्याक्ट एक्सयूभी ३०० लाई चार भेरियन्टमा उपलब्ध गराएको छ ।
यस एक्सयूभी ३०० मा थुप्रै सेग्मेन्ट फस्ट सेफ्टी फिचर समेत दिइएको छ । सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको छ । नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल गरि दुईवटा इन्जिन अफ्सनमा उपलब्ध रहने छ ।
नयाँ एक्सयूभी ३०० पेट्रोल भेरियन्ट डब्लु ४ को मूल्य ३९ लाख ७५ हजार र र डब्लु ८ ९अफ्सनल०को मूल्य ५६ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तैगरि डिजेलमा डब्लु ४ भेरियन्टको मूल्य ४१ लाख २५ हजार, डब्लु ६ भेरियन्टको ४५ लाख, डब्लु ८ भेरियन्टको ५१ लाख ५० हजार र डब्लु ८ ९अफ्सनल० को मूल्य ५७ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।
टाटा एचफाइभ

सिप्रदी ट्रेडिङले टाटा मोटर्सको पछिल्लो उत्पादन अल न्यु एच ५ नाडा अटो शोमा शोकेस गरेको छ । सुरुवाति मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको एच५ निकै चर्चा बटुल्न सफल भएको छ ।
एच५ को एक्स इ भेरियन्टको मूल्य ५६ लाख ५५ हजार, एक्स एमको ६४ लाख ५५ हजार , एक्स टीको ६९ लाख ५५ हजार र एक्स जेडको ७४ लाख ५५ हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
एक्सइ यो एसयूभीको लो भेरियन्ट हो भने एक्सजेड टप भेरियन्ट हो । क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिन एच ५ मा दिएको इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क उत्पादन गर्छ ।
एच ५ को लम्बाई ४५९८ एमएम, चौडाई १८९४ एमएम, उचाई १७१४ एमएम रहेको छ । यसको ह्वीलवेश २७४१ एमएम रहेको छ भने, ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको कम्पनीले जनाएको छ ।
यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र टाटाको अन्य मोडलमा उपलब्ध स्टेरिङ्ग ह्वील लगाइएको छ । एच ५ मा सुपर–ड्राइभ मोड दिइएको छ भने कम्फर्ट, अटो, डायनामिक र रफ–रोड गरी चार ड्राइभिङ अप्सन प्रदान गरिएको छ ।
मल्टी फक्शन स्टेयरिंग ह्वील, लेदर अपहोस्ट्री, एप्पल कार प्ले, एन्ड्रोइड सिस्टम लगायतका विशेषता एच५मा समेटिएका छन् ।
सुजुकी एक्सएल ६

सिजी मोटोकर्पले एक्सएल ६ लाई भारतमा सार्वजनिक भएको ६ दिनमा नै नाडा अटो शोमा सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको एक्सएल ६ जीटा मोडलको मूल्य ४६ लाख ९९ हजार र अल्फा मोडलको मूल्य ४७ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ ।
६ सिट अप्सनमा आएको यो नयाँ गाडीमा इन्र्टग्रेटेड एलइडी डे टाइम रनिंग ल्याम्प, नयाँ बम्पर, क्रोम ट्रिटमेन्ट, दुई वटा होरीजेन्टल क्रोम लाइट दिइएको छ । मेसिन फिनीश अलोय ह्वील, टेल लाइट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्स पार्किङ क्यामरा, स्टेयरिंग माउन्टेड कन्ट्रोल, क्रुज कन्ट्रोलजस्ता विशेषता यस कारमा पाउन सकिन्छ ।
कम्पनीले यसमा एबीएस, इबीडी, अटोमेटिक हेडलाइट, अटोमेटिक वाइपर, लेदर सिट, सनरुफ र इलेक्ट्रीकल्ली कन्ट्रोल सिटको विशेषता दिएको छ । यसमा ७ इन्चको इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने विशेषता दिइएको छ ।
एक्सएल–६ मा उपलब्ध के१५बी एसएचभीएस इन्जिनले ६ हजार आरपीएममा १०४.७ पीएस पावरका साथै ४४ सय आरपीएममा १३८ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
टोयोटा र्याभफोर

टोयोटाको हाइब्रिड कार र्याभफोर अटो शोको अर्को आर्कषण बन्न सफल भएको छ । टोयोटाले २०१९ को सुरुमा अन्तर्राष्ट्रिय बजारमा ल्याएको नयाँ हाइब्रिड एसयूभी नेपाल ल्याएको हो ।
टोयोटाको लागि नेपालको आधिकारीक बिक्रेता यूनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले हाइब्रिड र्याभफोरले प्रतिलिटर पेट्रोल मात्रैबाट २४ किलोमिटर माइलेज दिने जनाएको छ । साथै, ४० किलोमिटरभन्दा कमको स्पीडमा गाडी चलाउँदा व्याट्रीको प्रयोग हुने र पेट्रोलको खपत नहुने कम्पनीले दाबी गरेको छ । यो एसयूभीलाई स्पोर्ट, इको र नर्मलगरि तीन ड्राइभिङ्ग मोडमा चलाउन सकिन्छ ।
यसमा निकेल मेटल व्याट्री प्याक दिइएको छ भने पर्मानेन्ट म्याग्नेटिक सिन्क्रोनास मोटर लगाईएको छ । उक्त मोटरले अधिकताम पावर ११८ बीएच पावर उत्पादन गर्छ भने २०२ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा २.५ लिटर इनलाइन फोर सिलिन्डर फ्युल इन्जेक्टेड इन्जिनमा र्याभफोर उपलब्ध रहेको छ । २४८७ सीसी क्षमताको उक्त इन्जिनले ६६०० सय आरपीएममा १५१ किलोवाट (२०२ बीएच) पावर र ५००० आरपीएममा २४९ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ८ स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ ।
निकै स्टाइलिस र प्रिमियम देखिएको यसको क्यावीनले जो कोहीलाई लोभ्याउन सक्ने किसिमको रहेको छ । यसमा इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस स्मार्ट डोर लक, स्टेरिंग ह्वील, स्टेरिंग स्विच, स्टार्टिङ सिस्टम, फ्रन्ट हेडरेष्ट, क्रुज कन्ट्रोल, फ्रन्ट सिट स्लाइड जस्ता कम्फर्ट फिचर दिइएको छ ।
लेदर सिट, अडियो ज्याक, एसी, फ्रन्ट पर्सनल म्याप, असिस्ट ग्रिप, सन् भाइजर, पावर डोर लक, हिटर, हिटर कन्ट्रोल प्यानल, वायरलेस चार्जरको विशेषता पाउन सकिन्छ ।
यसमा ८ एयरब्याग, सिटबेल्ट, एन्टी थिफ्ट सिस्टम, एबीएस, इमर्जेन्सी स्टप सिंग्नल, सिट वेल्ट वार्निङ, चाइल्ड प्रोजेक्टर, हिल असिस्ट सिस्टमको विशेषता दिइएको छ । यसको फ्रन्ट र रियरमा भेन्टीलेटेड डिस्क ब्रेक लगाइएको छ ।
नेपाली बजारमा यसको मूल्य १ करोड ३४ लाख रुपैयाँ तोकिएको छ ।
जीप ट्रायलहक

नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जीपको ‘ट्रायल रेटेड’ एसयूभी कम्पास ट्रायलहक अटो शोमा शोकेस गरेको छ । अफरोड एसयूभी चाहनेहरुलाई यो गाडीले निकै लोभ्याएको छ ।
नयाँ कम्पास ट्रायलहकमा २.० लिटरको मल्टिजेट टर्बो डिजेल इन्जिन प्रयोग गरिएको छ जसले अधिकतम १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जीपले कम्पास ट्रायलहकमा पहिलो पटक ९ स्पीडको डिजेल अटोमेटिक ट्रान्समिसन इन्जिन प्रयोग गरेको छ । नेपालमा जीप कम्पास ट्रायलहकको मूल्य १ करोड २४ लाख ९० हजार रपैयाँ तोकिएको छ ।
अल ह्विल ड्राइभ (एडब्लुएच)प्रविधि रहेको ट्रायलहकमा जीप एक्टिभ ड्राइभ ४बाई४ लो, इन्जिन स्टपरस्टार्ट, एड्भान्स्ड क्रुज कन्ट्रोल, बिल्ट–इन नेभिगेसन, हिल डिसेन्ट कन्ट्रोल, र पहिलोपटक ‘रक मोड’ टेरेनको सुविधासमेत रहेको छ । यसअघिका कम्पास भेरियन्टमा ‘स्नो’, ‘स्यान्ड’, ‘मड’ र ‘अटो’ मोड थिए ।
ट्रायलहकमा १७ इन्चको एलोइ ह्विल लगाइएको छ भने ग्राउन्ड क्लेरेन्स २०५ एमएम रहेको छ । इन्स्ट्रयुमेन्ट क्लस्टरमा ७ इन्चको स्क्रिन प्रयोग गरिएको छ जसले नेभिगेसन डिरेक्सन, इन्जिनको तापमान, इन्जिनओइल र ट्रान्समिसन ओइल, ट्यांकमायुरियाको मात्रा, माइलेज, रेडियो फ्रेक्वेन्सी, गियर सेलेक्ट लगायतको सूचना दिन्छ । स्टेरिङ ह्विलको दायापट्टि अबक्रुज कन्ट्रोल र बायाँतिर रेडियो, संगीत, जलवायु र नेभिगेसनका लागि ‘भ्वाइस एक्टिभेटेड कन्ट्रोल’ राखिएको छ ।


