बेलायती कम्पनी रोयल इन्फिल्डले भारतीय बजारमा आफ्नो लोकप्रिय मोटरसाइकल क्लासिक ३५० को सबैभन्दा सस्तो मोडल सार्वजनिक गरेको छ । ‘रोयल इन्फिल्ड क्लासिक ३५० एस’ नामबाट सार्वजनिक भएको यो मोडलको मूल्य भारतीय बजारमा १ लाख ४५ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
कम्पनीले क्लासिक ३५० स्टायडर्ड मोडलभन्दा यसको मूल्य ९ हजार कम राखेको हो । यो मोटरसाइकललाई कम्पनीले दुई कलर अप्सन कालो र मर्करी सिल्भरमा बजारमा उतारेको छ ।
सिंगल च्यानल एबीएस सहित बजारमा आएको यो मोटरसाइकलमा इन्जिन र ह्वीलमा कालो करल दिइएको छ । यसको स्टायडर्ड मोडलमा रहेको डबल च्यानल एबीएस र क्रोम फिनिस यसमा पाउन सकिदैन । फिउल ट्याङमा दिइएको कम्पनीको लागोमा परिवर्तन गरिएको छ । पहिला मेटलको लोगो दिइएको यसमा सामान्य स्टीकर लगाइएको छ ।
कुनै किसिमको मेकानिकल परिमार्जन नगरिएको यो मोटरसाइलमा ३४६ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.८ बीएच पावर र २८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

