नेपाल आयो यामाहाको रेट्रो क्रुजर XSR 155, यस्तो छ मूल्य

काठमाडौं । यामाहाको नियो क्लासिक रेट्रो क्रुजर सेग्मेन्टमा आधारित नयाँ मोटरसाइकल एक्सएसआर १५५ नेपाल आइपुगेको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले क्रुजर यामाहा एक्सएसआर १५५ मोटरसाइकल भित्र्याएको हो ।

कम्पनीले एक्सएसआर १५५ बीएमसी, भीआरसी १, डब्लूएमसी र एसएमएक्स गरी चार भेरियन्ट नेपाल ल्याएको हो । नेपाल भित्र्याएसँगै कम्पनीले एक्सएसआर सार्वजनिक गर्ने तयारी थालेको छ ।

सोही क्रममा कम्पनीले एक्सएसआर १५५ को एमआरपी मूल्य सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एक्सएसआरको मूल्य भेरियन्ट अनुसार १ लाख २९ हजार ९०० देखि १ लाख ५९ हजार ९०० रुपैयाँ तोकेका छ । जसमा बीएमसी भेरियन्टको ५ लाख २९ हजार ९०० रुपैयाँ, भीआरसी १ को ५ लाख ३९ हजार ९०० रुपैयाँ, डब्लूएमसीको ५ लाख ४९ हजार ९०० रुपैयाँ र एसएमएक्सको ५ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । यद्यपि, कम्पनीले हाल प्रकाशित गरेको मूल्य लन्च हुने बेला परिवर्तन हुन सक्नेछ ।

कम्पनीले उक्त मोटरसाइकल सार्वजनिक गर्ने आधिकारिक मिति घोषणा गरेको छैन । तर, आगामी भदौमा आयोजना हुने नाडा अटो शोमा लन्च हुने सम्भावना छ ।

यो मोटरसाइकल भारतमा ८ महिना अघि बिक्री सुरू भएको थियो । एक्सएसआर १५५ भारतमा आउनुभन्दा पहिलैदेखि अन्य देशहरूमा उपलब्ध थियो । भारतपछि अब नेपालमा सार्वजनिक हुने भएको हो ।

यसको डिजाइन विश्वव्यापी एक्सएसआर १५५ बाट प्रेरित छ । यसमा क्लासिक स्टाइलका साथै मोर्डन टच पाउन सकिन्छ । एक्सएसआर मोटरसाइकल यामाहा आर १५ र एमटी १५ कै इन्जिन प्लेटफर्ममा निर्माण भएको मोडल हो । त्यसैले यसमा दिइएको इन्जिन पनि समान छ । कम्पनीले रेट्रो डिजाइनको मोटरसाइकल मन पराउने ग्राहकका लागि विशेष गरी यो एक्सएसआर १५५ मोडल ल्याएको हो ।

दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको एक्सएसआर १५५ मा डेल्टा बक्स फ्रेम, गोलाकार एलईडी हेडलाइट सेटअप, टियरड्रप आकारको फ्युल ट्यांक, फ्ल्याट सिंगल पिस सिट, १३७ किलोग्राम तौल, १२० एमएम ग्राउण्ड क्लियरेन्स र १० लिटरको फ्युल ट्यांक दिइएको छ ।

यसमा १५५ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी, एफआई, भीभीए इन्जिन रहेको छ । यसले अधिकतम १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै असिस्ट र स्लिपर क्लच पनि छ ।

साथै, मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक यूएसडी फोर्क र रियरमा स्वीङआर्म लिंक मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, ट्युबलेस टायर र कलर म्याचिङ अलोय ह्वील रहेको छ ।

त्यस्तै, वाइ स्मार्टफोन कनेक्टिभिटी सिस्टम सहितको पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, कल एसएमएस अलर्ट, पूरा एलईडी लाइट, डीआरएल, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रीक स्टार्टर लगायत फिचरहरू पाउन सकिन्छ ।


Back_to_top