काठमाडौं । नाडा अटो शो २०१९ मा नेपाली बजारमा प्रबेश गर्ने भनिएपनि आउन नसकेको बीवाईडीको इलेक्ट्रीक एमपीभी एम थ्री नेपाली बजारमा आएको छ । उक्त इलेक्ट्रीक भेइकल उत्पादक कम्पनी बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कले नेपाली बजारमा ल्याएको हो ।
विगत ४ वर्षदेखि नेपालमा इलेक्ट्रीक गाडीहरु बिक्री गर्दै आएको साइमेक्स इङ्कले एम थ्री सहित बीवाइडी ब्रान्डका दुई गाडी एम थ्री र ई ६ बिक्री गरिरहेको छ ।
एम थ्री मल्टि यूटिलिटी भेइकल (एमपीभी) पाँच सिटर र ७ सिटर अप्सनमा उपलब्ध छ । यो गाडीको अधिकतम गति करिब १३० किलोमिटर प्रतिघण्टा रहेको छ ।
साइजको कुरा गर्दा ४४६० एमएम लम्बाई, १७२० एमएम चौडाई र १८७५ एमएम उचाई भएको यस कारमा २७२५ एमएमको ह्वीलवेश रहेको छ । यस इलेक्ट्रीक कारले फुल चार्जमा ३१० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ ।
यसमा उपलब्ध ५०.३ किलोवाटको बीवाइडी एनसीएम ब्याट्री फास्ट चार्जरबाट १ घन्टा ५० मिनेट र होम चार्जरबाट ७ देखि ८ घन्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।
कारको फ्रन्ट साइडमा एमसी फ्रेर्शन स्ट्रट सस्पेन्सन लगाइएको छ भने रियरमा लिफ स्प्रिंग सस्पेन्सनको विशेषता दिइएको छ । कारमा रिजेनेरिटीभ ब्रेकीङ सिस्टम, स्लाइडिङ डोर, प्रिमियम फोल्डिङ सिट, एसी र डिसि चार्जिङ पोर्ट, ठूलो बुट स्पेश, कि–लेस इन्ट्री र स्टाट लगायका विशेषता दिइएको छ ।
सुरक्षित तथा किफायती भएको कारण एमथ्रीले राम्रो बजार लिने कम्पनीको विश्वास रहेको छ । यो कार होटल, हस्पिटल, स्कुल, कलेज तथा ट्राभल एजेन्सी र एयरलायन्सहरुका लागि एकदमै उपयोगी हुने कम्पनीले जनाएको छ । यसको संचालन खर्च प्रतिकिलोमिटर १ रुपैया हाराहारीमा मात्र पर्ने भएकोले यो धेरै कुदिरहने कामका लागि अतिउपयोगी हुने कम्पनीको दावी रहेको छ ।
कम्पनीले यसको मूल्य पाँच सिटरको ४८ लाख तथा ७ सिटरको ४९ लाख रुपैयाँ निर्धारण गरेको छ । यसका लागि सुपथ व्याजदरमा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको समेत व्यवस्था रहेको छ ।


