बेलायती राजनीतिमा निकै उतारचढाव आइरहेको छ । यस्तो अवस्थामा दि लेवर पार्टीले आफ्नो पार्टीको सरकार बने बेलायतमा इलेक्ट्रीक सवारीसाधनमा नयाँ क्रान्ति आउने दाबी गरेको छ ।
लेवर पार्टीले प्रस्ट योजना बनाएर इलेक्ट्रीक सवारी किन्ने नागरिकलाई अनुदानको रुपमा २.५ मिलियन पाउण्डको स्क्र्याप स्कीम दिने जनाएको छ, भने ३.६ बिलियन पाउण्डको इलेक्ट्रीक सवारीसाधन चार्जिङ र अन्य काममा खर्च गर्ने जनाएको छ ।
उक्त योजना अन्तर्गत १० वर्ष पुराना डिजेल वा पेट्रोल गाडी स्क्र्याप गराउने सवारीधनीले २ हजार पाउण्ड पाउने छन् ।
चार्जिङ स्टेशन लगायतलाई छुट्टाइएको रकम मध्य २१.५ मिलियन पाउण्ड चार्जिङ स्टेशन निर्माण गर्न र २ बिलियन पाउण्ड इलेक्ट्रीक सवारीमा लाग्ने तीन किसिमका व्याट्री उत्पादनमा लगाउने जनाइएको छ ।
साथै, लेवर पार्टीका स्याडो चान्सरलर जाँन मैकडोनलले भनेका छन् ‘पार्टी सबै इलेक्ट्रीक सवारी साधन किन्ने चालकलाई विना व्याज कर्जा र सडक दस्तुर समेत मिनाह गर्ने छ ।’
त्यसको लागि समेत पार्टीले प्लान तयार गरेको जनाएको छ । अधिकतम ३३ हजार पाउण्डसम्मको गाडी किन्ने नागरिकले यी सबै सुविधा पाउने छन् । साथै पार्टीले आफ्नो सरकार आए बेलायतका सबै सरकारी कार्यालयमा सन् २०२५ भित्र इलेक्ट्रीक गाडीमात्र चलाउने जनाएको छ ।
लेवर नेता लङ्ग बेलीले जलवायु परिर्वतन र बेलायती अर्थ व्यवस्था बलियो बनाउन यो एक अवसर भएको बताइन् । उनले इलेक्ट्रीक सवारी साधन प्रतिको आकर्षणले बेलायतमा नयाँ रोजगारीको अवसर सृजना हुने दाबी गरेकी छिन् ।


