होन्डाले प्रिमियम सेग्मेन्ट मोटरसाइकमा आफ्नो पकड बलियो बनाउन नयाँ मोडल भारतमा उत्पादन गर्ने तयारी गरिरहेको रिपोर्ट बाहिर आएको छ । कम्पनीले मिड क्यापासिटी सेग्मेन्टमा आफ्नो बलियो उपस्थितिको लागि नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।
मिडिया रिपोर्टका अनुसार कम्पनीले ल्याउने नयाँ मोटरसाइकलको सिधा प्रतिस्पर्धा रोयल इन्फिल्डसँग हुने जनाइएको छ । होन्डाले अबको १८ महिना भित्र नयाँ मोटरसाइकल बजारमा उतार्ने जनाइएको छ ।
कम्पनीले प्रिमियम मोटरसाइकलमा काम गर्न गत फेब्रुअरीदेखि करिब १५ जनाको टिमले कडा मिहिनेत गरिरहेको जनाइएको छ । कम्पनीका सिनियर भाइसप्रेसिडेन्ट यादविन्दर सिंह गुलरियाका अनुसार कम्पनीले भारतीय बजार सुहाउदो मूल्य र उत्पादन ल्याउन काम गरिरहेको छ ।
भारतमा अहिले प्रिमियम मोटरसाइकलको बजार वार्षिक करिब ८ लाख यूनिट रहेको छ । यसमा सबैभन्दा ठूलो बजार हिस्सा रोयल इन्फिल्डको रहेको छ । यस्तोमा कम्पनीको नजर रोयल इन्फिल्डमा रहनु स्वभाविक हो ।
कम्पनीले सिंगल मोडलमा थुप्रै डिजाइनमा मोटरसाइकल बनाउने तयारी गरिरहेको छ । जुन ३०० देखि ५०० सीसी क्षमता भित्र रहने जनाइएको छ ।

