काठमाडौं । सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । उक्त दुर्घटनमा ४० भन्दा बढी घाइते भएका छन् ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा आज बिहान ९ः५५ बजे दूर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाइएको छ ।
अस्पतालमा उपचारका क्रममा अन्य ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने मध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्यको पहिचान खुल्न भने बाकि रहेका छ ।
बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो ।

