काठमाडौं । भन्सारमा थन्किएको लामो समयसम्म पनि विश्वका चर्चित र महंगा इलेक्ट्रीक र हाइब्रिड कारको विषय भन्सारले टुङ्गाउन सकेको छैन । आयातकर्ताहरुले आवश्यक कागजात पुरा गर्न नसक्दा यी कारहरु भन्सारमा रोकिएका हुन् ।
एउटा टेस्ला, ६ वटा प्लगइन हाइब्रिड ज्यागुअर र ६ वटा आउडीको इलेक्ट्रीक कार इट्रोन भन्सारमा थन्किएका हुन् । अमेरिकन चर्चित कम्पनी टेस्लाको इलेक्ट्रीक कार वेस्टार ग्यालेक्सी ट्रेडिङले आयात गरेको हो ।
उक्त आयातकर्ता कम्पनी र अमेरिकी इलेक्ट्रीक कार उत्पादक टेस्लाबीच कुनै आधिकारीक सम्झौँता नभएको कारण उक्त गाडी भन्सारबाट छुट्न सकेको छैन ।
ज्यागुअरको प्लगइन हाइब्रिड कार किशोर गियरले नेपाल ल्याएको हो । करिब १२ करोड मूल्यमा ल्याइएका ६ वटा एसयूभी भन्सारमा थन्किएको हो । त्यसको पनि उत्पादक कम्पनीले दिएको आधिकारीक डिलरको समयावधी सन् २०१७ मा ने सकिएकाले थप कागजात बुझाउन नसक्दा गाडी रोकिएको हो ।
साथै, पहिलो लटमा तीनवटा अउडीको इट्रोन ल्याएर बेचेको प्रिन्सा अटोमोवाइलले दोस्रो पटक ल्याएको गाडी रोकिएको छ । संयोग नै यस्तो रहेको छ कि अउडी र टेस्लाको नेपाल ल्याइएको दुबै कार बेलायतको जेम्सन कार्टर लिमिटेडबाट आयात गरिएको छ ।
जेम्सन कार्टर भारतीय मुलका राज वेदीले सञ्चालन गरेको दालचामलदेखि कारसम्म खुद्रा बिक्री गर्ने कम्पनी हो ।
अहिले के भइरहेको छ ?
अहिले यी गाडी भन्सारमा नै रोकिएर बसेका छन् । भन्सारले मागेका कागजात आयातकर्ता कम्पनीले पेश गर्न सकेका छैन् । ती कागजपत्र पेश नभई कुनैपनि मोडलका गाडी नेपाल आउन सक्दैन ।
‘सरकारले काम गरेर खानपनि नदिने भयो । कुनै समय कुन नियमबाट गाडी ल्याउँछ कुनै समय कुन । त्यसले हाम्रो लगानी डुब्ने अवस्थामा पुग्यो’, ज्यागुअरका आयातकर्ता किशोरवादे श्रेष्ठले मेरोअटोसँग भने ।
उनका अनुसार अब गाडी निर्माता कम्पनीले नेपालको लागि आधिकारीक डिलरको सम्झौँता दिने छैन भने भन्सारमा आएका सबै गाडी छुट्ने अबस्था पनि छैन ।
आफुले विगत १६ वर्षदेखि ज्यागुअरका गाडी नेपाली बजारमा ल्याएर बिक्री वितरण गरिरहेको भएपनि अहिले सरकारले आफुलाई काम गर्न नदिएको उनको गुनासो थियो ।
के छ कानुनमा ?
नेपालमा नयाँ सवारीसाधन आयात गर्न निर्माता कम्पनीले आधिकारिक बिक्रेता नियुक्त गरेको हुनु पर्छ । साथै, उत्पादक कम्पनीले आधिकारीक डिलर बिस्तार गर्न सक्ने अधिकार दिएको कम्पनीबाट गाडी ल्याउन पाइन्छ । तर, यसरी गाडी ल्याउँदा उत्पादक कम्पनीले दिएको पत्र ल्याउनु पर्ने हुन्छ ।
के हुन्छ अब ?
सरकारले अनाधिकृत रुपमा आएका यस्ता गाडी सोझै जफत गर्न सक्ने भन्सार कानुन रहेको छ । लामो समयदेखि कागजपत्र संकलनको लागि कम्पनीलाई समय दिइएको भएपनि अबभने ति सवारीसाधन भन्सारले जफत गरि लिलाम बिक्री वा आफैँ प्रयोग गर्न सक्ने छ । यी गाडी जफत हुन्छ वा हुँदैनन् अबको केही दिनमा थाहाहुनेछ ।


