काठमाडौं । भारतबाट गाडी ल्याएर बिक्री गर्ने गिरोह विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले जरीवाना र कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
यसरी राजस्व छलिगर्नेमा नुवाकोट जिल्ला विदुर नगरपालिकाका सन्तबहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ, बैतडी पुचौडी भट्ना गाउँपालिका ८ का कृष्णानन्द भट्ट, वीरगंज महानगरपालिका ३ का निजामुद्धिन र तेह्रथुम आठराई गाउँपालिका ४ का अभयराज घिमिरे रहेका छन् ।
उनीहरुले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा ल्याई नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरेका थिए ।
उनीहरुलाई राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित एबं सोही ऐनको दफा ४९(क), ४९(ख) र ४९(ग)बमोजिमको कसुरजन्य कार्यगरी १ करोड ७२ लाख राजस्व चुहावट गरेको विभागले दाबी गरेको छ । यीनीहरुलाई विगो मूल्यको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय मागगर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

