काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अटो क्षेत्रमा देखिएको मन्दी चाँडै हट्ने विस्वास ब्यक्त गरेका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमितिले आज अर्थमन्त्री डा. खतिवडालाई भेटी अटोमोबाइल क्षेत्रमा आएको मन्दी हटाउन नीतिगत सुधारको लागि गरेको आग्रहमा उनले यस्तो बताएका हुन् ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पछिल्लो समय अटोमोबाइल क्षेत्रमा आएको मन्दीले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पुर्याएको भन्दै यसमा केही सहजताको बाटो खोज्न आग्रह गरेको हो ।
भेटमा अर्थमन्त्री खतिवडा आफैले अटो क्षेत्रमा आएको गिरावटको विषयमा चासो राखेर कुरा गरेको सहभागिहरुले बताए ।
‘अर्थमन्त्री अहिलेको अवस्थाको विषयमा जानकार हुनुहुन्थ्यो । उहाँले बैंकमा तरलताको अवस्थामा सुधार हुँदै गएकाले अब अटो क्षेत्रको बिक्रीमा सुधार आउने बताउनु भयो’, प्रतिनिधिमण्डलका सहभागि नाडाका महासचिव सुनिल रिजालले मेरोअटोसँग भने ।
नाडाले विशेषत फेयर ट्रेड, स्पेयर पाटर्समा अण्डर इन्भोइसिङ जस्ता विषय समाधन गर्न र सहज व्यापारको वातावरण निर्माण गर्न अर्थमन्त्रीसँग लिखितरुपमै माग गरेको रिजालले जानकारी दिए ।

‘हामीले अटो क्षेत्रले भोग्दै आएका समस्या राख्यौ, अर्थमन्त्री त्यसमा सकारात्मक हुनुहुन्छ । पछिल्लो समय हायर पर्चेज कम्पनीलाई साइसेन्स दिदा ठूला सवारीसाधनमा मात्रै कर्जा दिन पाउने व्यवस्था हटाएर सबैमा दिन सक्ने बनाउन हामीले गरेको आग्रहमा उहाँ सकारात्कम हुनुहुन्छ’, नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाले भने ।
भेटमा अर्थमन्त्री डा. खतिवडाले स्पेयर पाटर्स र लुब्रिकेन्ट आयात गर्ने कम्पनीले पनि गाडी आयात जस्तै आधिकारीक डिलरसीप मार्फत मात्रै आयत गर्न दिने विषयमा छलफल भइरहेको जानकारी दिएका थिए ।
नाडाले इलेक्ट्रीक सवारीसाधनमा दिने कर्जा, अटो उद्योग स्थापना गर्न दिइने सेवा सुविधा, सडक सञ्जाल विस्तार, स्पेयर पटर्समा हुने चोरी पैठारी लगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

