काठमाडौं । रेनोले आफ्नो इलेक्ट्रीक कार जोईको बिक्रीमा निकै ठूलो सफलता हात पारेको छ । कम्पनीले गत डिसेम्बर महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै यूनिट इलेक्ट्रीक कार बिक्री गरेर नयाँ रेकर्ड बनाएको छ ।
यस्तोमा रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोबाइलले नेपालमा रेनो ‘जोई’ इलेक्ट्रीक कार ल्याउने तयारीलाई तिब्रता दिएको छ । फ्रान्सेली अटो उत्पादक रेनोको इलेक्ट्रीक जोईलाई कम्पनीले नेपाली बजारमा पहिलो पटक नाडा अटो शो २०१८ मा नेपाल ल्याएको थियो ।
अबभने, कम्पनीले जोईको आधिकारी बिक्री गर्नेगरी ल्याउन लागेको जनाएको छ । कम्पनीले ल्याउने उक्त इलेक्ट्रीक कार बेलायती बजारमा १८ हजारदेखि २७ हजार पाउण्डसम्म बिक्री भइरहेको छ ।
सहरी क्षेत्रलाई ध्यानमा राखेर निर्माण गरेको जोई इलेक्ट्रीक कार निकै आकर्षक र आरामदायी रहेको छ ।
रेनो जोई युरोपियन बजारमा सर्वाधिक बिक्री हुने मध्यको एक इलेक्ट्रीक कारमा पर्छ । यसले युरोपियन बजारमा निसान लिफसँग सिधा प्रतिस्पर्धा गरिरहेको छ । सन् २०१२ को जेनेभा मोटर शोमा पहिलोपटक शोकेस गरिएको यो कार २०१३ देखि नै कम्पनीले उत्पादन गर्दैआएको हो ।
रेनोले जोईको २०१९ मोडललाई दुई फरक ब्याट्री पावर अप्सनकासाथ बजारमा ल्याएको छ । पहिलो कम रेञ्जमा ‘आर ११०’ मा ४१ र ठूलो ‘आर १३५’मा ५२ किलोवाटको ब्याट्री प्याक दिएको छ । आर ११० मा दिइएको मोटरले १०६ बीएच पावर र २२५ एनएम टर्क प्रदान गर्नेछ भने आर १३५ मा दिइएको मोटरले १३५ बीएच पावर र २४५ एनएम टर्क उत्पादन गर्छ ।
यसमा दिइएको फास्ट व्याट्रीलाई ५० किलोवाटको फास्र्ट डिसी चार्जरबाट चार्जगर्दा ६५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । पटकको फुल चार्जमा ३८६ किलोमिटरसम्म चलाउन सकिने जनाइएको छ ।
यसमा रहेका फिचरमा कि कार्ड इन्ट्री, पुस स्टाट बटम, सात इञ्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, टीएफटी ड्यास बोर्ड, क्रुजकन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक फ्रन्ट विन्डोजजस्ता फिचर रहेका छन् । यो कार यात्राको लागि निकै आरामदायी रहेको छ ।
कारमा सेन्सरयुक्त क्लाइमेट कन्ट्रोल, एयर कन्डिसन, एन्टी लक ब्रेकिङ सिस्टम, एमरजेन्सी ब्रेक एसिस्ट, एयरब्यागलगायतका सुरक्षा मापदण्ड अपनाइएको छ ।
१६ इञ्च अलोय ह्वील, क्रोम फ्रन्ट ग्रिल सराउन्ड, लेदर स्टेरिङ ह्वील, अटोमेटीक लाइट, रेन सेन्सिङ वाइपर, इलेक्ट्रीक रियर विन्डोज, अपग्रेडेड साउन्ड सिस्टम, रियर पार्किङ सेन्सर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम जस्ता फिचर दिइएको छ ।


