यी हुन् २०७६ मा नेपाल आएर सफलता चुमेका ५ मोटरसाइकल

काठमाडौं । नयाँ वर्ष २०७७ संघारमा आइपुगेको छ भने वर्ष २०७६ ले बिट मार्न लागेको छ । यस्तोमा दुई पाङ्ग्रे सवारीसाधनको लागि २०७६ कस्तो रह्यो भन्ने चासो हुनु स्वभाविक हो ।

२०७६ मा होन्डा, हिरो, बजाज, यामाहा, टीभीएस, सिएफमोटो, आफ्टेक, बेनेली, रोयल इन्फिल्ड, बेनेली जस्ता कम्पनीले नयाँ मोडल सार्वजनिक गरेका थिए । यस्तोमा हामीले २०७६ सालमा नेपाल आएर सफलताको स्वाद चाखेका मोटरसाइकलको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

१. यामाहा एफजेड भी थ्री: यामाहाले गत साउनमा नेपाली बजारमा ल्याएको एफजेड भी थ्री सर्वाधिक सफल मोडलको रुपमा रहेको छ । मोरङ्ग अटोवर्कले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको यो मोडल २०७६ को सर्वाधिक सफल मोडल हो ।

यामाहा एफजेड भि थ्रीमा १४९ सीसी क्षमताको एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले १३ बीएच पावर प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसमा १३ लिटर क्षमताको फियुल ट्याङ्की दिइएको छ ।

५ स्पीड म्यानुयल गियरबक्स दिइएको यो मोटरसाइकलमा वेट मल्टी डिस्क ब्रेक दिइएको छ । यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

चालकलाई सहज यात्रा गर्न सहयोग पुर्याउन मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क दिइएको छ भने पछाडि स्वीङआर्म सस्पेन्सन दिइएको छ ।

एफजेड भि थ्री र जिक्सरमा एलइडी हेडलाइट उपलब्ध रहेको छ भने टेललाइट पनि एलइडी नै रहेको छ । स्पीडो मिटर, ट्रीप मिटर र टेकोमिटर डिजिटल रहेको यो मोटरसाइकलमा फियुल गज, पिलियन सिट, पिलियन ग्राबरेल, घडी, ट्रीप मिटर काउन्ट, पासलाईट जस्ता विशेषता रहेका छन् । यसकाे मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ ।

२. बजाज पल्सर एनएस २०० एबीएस/एफआईः बजाजको मस्कुलर मोटरसाइकल पल्सर एनएस २०० लाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एबीएस र एफआई इन्जिन सहित बजारमा ल्याएसँगै यसको सफलता ह्वात्तै बढेको छ ।

३ लाख ५६ हजार ९ सय रुपैयाँमा बिक्री भइरहेको एनसएस २०० एफआई, एबीएसको विशेषताको कारण चर्चामा रहेको हो । बजाजले यसमा फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड, एफआई, ट्रिपल स्पार्क इन्जिन लगाएको छ । यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ ।

यसमा डिजिटल स्पीडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ । यसका साथै, इलेक्ट्रीक लाइट, पीलन फोरेष्ट, स्प्लीट सिट, पिलन ग्राब रेल लगायतका विशेषता उपलब्ध रहेको छ ।

३. हिरो एक्सपल्सः हिरोको लागि नेपालको आधिकारीक बिक्रेता एनजीएमले ल्याएको हिरो एक्सपल्स नाडा अटो शो २०१९ मा सार्वजनिक भएको थियो । यो मोटरसाइकलले हिरोको नेपालमा खस्कदो शाखलाई फकाएको छ । कम्पनीले ल्याएको एक्सपल्स २०० यो वर्षको चर्चित मध्येको एक मोडल भएको छ ।

मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ । राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ ।

कम्पनीले यो मोटरसाइकलमा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर टु भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड ट्रान्समिसन जडान गरिएको छ ।

एक्सपल्स–२०० एडभेन्चर मोटरसाइकल हो । यसमा हाई स्ट्रेन्थ स्टिलको बडी फ्रेम, अगाडि २१ इन्चको स्पोक ह्वील, पछाडिमा १८ इन्चको ह्वील लगाइएको छ । साथै, यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ ।

बाइकको अगाडिको चक्कामा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ । पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको छ । दुबै चक्कामा डिस्क ब्रेकको साथ सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ । यसको मूल्य ३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

४. टीभीएस रेडोनः कम्यूटर मोटरसाइकल सेग्मेन्टमा टीभीएस रेडोन २०७६ सालमा नेपाल आएको मोटरसाइकल मध्ये निकै सफलता पाउन सफल मोडल भएको छ । जगदम्बा मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको टीभीएस रेडन अहिले धेरै रुचाएको मोडल हो । विशेष गरेर टुटल पठाओ जस्ता कम्पनीमा आवद्ध राइडलेसमेत यसलाई प्रयोग गर्न सुरु गरेका छन् ।

कम्पनीले नाडा अटो शो २०१९ मा रेडोन ११० मोटरसाइकल सार्वजनिक गरेको थियो । यस मोटरसाइकलको बजार मूल्य १ लाख ८१ हजार ९ सय रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

यसमा उपलब्ध १०९.७ सीसी फोर स्ट्रोक डुरालाइफ इन्जिनले ७ हजार आरपीएममा ८.४ पीएस पावरका साथै ५ हजार आरपीएममा ८.७ एनएम टर्क उत्पादन गर्छ । यसमा फोर स्पीड कन्स्ट्यान्ट मेस ट्रान्समिसन र वेट मल्टी प्लेट टाइप क्लच दिइएको छ ।

सि‌ंगल क्राडल ट्युबलर फ्रेम चेसिस लगाइएको बाइकको फ्रन्टमा टेलिस्कोपीक आयल ड्याम्प फ्रन्ट र रियरमा ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक एब्जर्बर सस्पेन्सन दिइएको छ । फ्रन्टमा १३० एमएम र रियरमा ११० एमएमको ब्रेक दिइएको छ । बाइकमा १८ इन्चको ट्युबलेस टायर दिइएको कम्पनीले जनाएको छ ।

यसमा १० लिटर इन्धन अट्ने ट्यांकी लगाइएको छ । यसले प्रतिलिटर ६९ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

५. होन्डा यूनिकर्न १५०ः नेपाली बजारमा लामो समयसम्म १५० सीसी सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गरेको मोटरसाइकल होन्डा यूनिकर्न १५० पुनः नेपाली बजारमा दुई महिनाअघि आएको थियो । होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेड्रिङ कम्पनीले यो मोटरसाइकलको मूल्य २ लाख ६१ हजार ९ सय रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । बिक्री सुरु गरेको छोटो समयमा नै यसले सफलताको स्वाद चाख्न सफल भएको छ ।

नयाँ यूनिकर्नमा १४९ सीसीको सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजिमा निर्माण गर्ने गरेको छ । यूनिकर्न १५० मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिगंल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्री डी होन्डा लोगो, ५ कालो अलोय ह्वील जस्ता विशेषता समेटिएको छ ।

यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ । यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ ।


Back_to_top