काठमाडौं । जापानी अटोमोवाइल जाइन्ट कम्पनी टोयोटाले चिनीयाँ इलेक्ट्रीक कार कम्पनी बीवाइडीसँग मिलेर नयाँ कार उत्पादन गर्ने कम्पनीको स्थापना गरेका छन् । विश्व बजारमा इलेक्ट्रीक सवारीको मागमा अत्याधिक वृद्धी भएसँगै टोयोटाले बीवाइडीसँग सहकार्य सुरु गर्ने निर्णय गरेको हो ।
सन् २०१७ मै टोयटाले दश नयाँ मोडलका इलेक्ट्रीक कार बनाउने घोषणा गरेको थियो । त्यसलाई पुरागर्न टोयोटाले विश्वका विभिन्न इलेक्ट्रीक भेहिकल बनाउने कम्पनीहरुसँग सम्झौता गरेको थियो ।
गत वर्ष मात्र जापनीज कार कम्पनी टोयोटाले इलेक्ट्रीक कारको व्याट्री बनाउने चिनीयाँ कम्पनी कल्ट (सीएएलटी) सँग सम्झौता गरेको थियो ।
चाइनाको सबैभन्दा ठूलो व्याट्री बनाउने कम्पनीसँग सहकार्यको सम्झौता गरेसँगै टोयोटाले फेरि चाइनाको सबैभन्दा ठूलो इलेक्ट्रीक कार निर्माता कम्पनीसँग जोयन्ट भेन्चर सुरु गर्न लागेको हो ।
टोयोटाका अनुसार बीवाइडीसँगको नयाँ कम्पनीले आगामी मे महिनाबाट काम शुरु गर्नेछ । नयाँ जेभीमा दुबै कम्पनीको समान ५०÷५० शेयर स्वामित्व रहनेगरि स्थापना भएको कम्पनीको नाम बीवाइडी–टोयोटा इभी टेक्नलोजी कम्पनी लिमिटेड राखिएको छ । उक्त कम्पनीको अध्यक्ष टोयोटाका हिरोहीसा कीसी रहने छन् भने कम्नीको सीइओ बीवाइडीका जाओ बेङ्गीन रहनेछन् ।
विश्व प्रख्यात सफल जापनीज कार कम्पनी टोयोटा र वारेन्ट बफेटको समेत लगानी रहेको चिनीयाँ इलेक्ट्रीक कार कम्पनीले मिलेर बनाउन लागेको नयाँ इलेक्ट्रीक कारलाई विश्वका इभी पारखीहरुले उत्सुकताका साथ कुरिरहने छन् ।