काठमाडौं । विश्व अटोमोवाइल बजारमा इन्जिन साइज घटाएर उत्कृष्ट पावर प्रदान गर्नेगरि कम्पनीहरुले टर्बो चार्ज्ड इन्जिन बजारमा ल्याइरहेका छन् । नेपाली बजारमा पनि यस्ता टर्बो इन्जिनमा गाडी उपलब्ध हुँदै आएका छन् ।
पछिल्लो समय नेपाली बजारमा हुन्डाई, महिन्द्रा, टाटा जस्ता कम्पनीले साना इन्जिनमा टर्बो प्रयोग भएको गाडीहरु बिक्री गर्दै आएका छन् । यस्तोमा कम सीसी भएका तर टर्बो चार्ज्ड इन्जिन भएका गाडीको पावर पनि निकै धेरै हुने गरेको छ ।
तर, धेरै ट्राफिक हुने स्थानमा भने चालकले टर्बोको पावर अनुभव गर्न सक्दैनन् । यही कारण काठमाडौं उपत्यकामा टर्बो इन्जिन युक्त गाडी खासै ग्राहकले रुचाएको पाइदैन । तर, यस्ता गाडी हाइवेमा लिएर जाँदा टर्बोको अनुभव निकै राम्रोसँग गर्न सकिन्छ ।
टाटा नेक्सन १.२ लिटर टर्बो पेट्रोल
टाटा मोटर्सको सर्वाधिक सफल सब फोर मिटर एसयूभी नेक्सन कम सीसीको टर्बो चार्ज्ड पेट्रोल इन्जिनमा आएर सफल भएको पहिलो मोडल हो । नेपालमा सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा सफल मध्येको एक मोडल हो ।
टाटा नेक्सन कारमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । ११९८ सीसी क्षमताको उक्त इन्जिनले ५००० आरपीएममा ११० पीएस पावर र १७५० देखि ४००० आरपीएममा १७० एनएमटर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र अटोमेटिक दुबै अप्सनको गियरबक्स र तीन ड्राइभ मोड उपलब्ध रहेको छ । यसलाई इको, सिटी र स्पोर्ट मोडमा चलाउन सकिन्छ ।

सुरक्षाको हिसावले ग्लोवल एनक्यापमा ५ स्टार रेटिङ्ग निकै सुरक्षीत प्रमाणित यो एसयूभीको आंशिक डिजाइन ल्याण्डरोभर र रेञ्जरोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयूभी मोडलमा नयाँ आयाम ल्याएको टाटाले जनाएको छ ।
यस कारमा ६.५ इञ्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यस कारमा एन्ड्रोईड अटो, एप्पल कार प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टीफङ्सन स्टेयरिङ ह्वील र पावर विन्डोजस्ता फिचर दिइएको छ ।
कारका अन्य फिचरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डे टाइम हेडल्याम्प र एलईडी टेल ल्याम्पयुक्त नेक्सनमा १६ इञ्चको एलोई ह्वील, उत्कृष्ट फिटीङ, ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले दिइएको छ । यसको नेपाली बजारमा सुरुवाति मूल्य ३५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
हुन्डाई भेन्यू १.० लिटर टर्बो पेट्रोल
हुन्डाईले नयाँ ल्याएको १.० लिटर टर्बो चार्ज्ड इन्जिन अहिले निकै चर्चामा रहेको छ । ९९८ सीसी र बढी पावर यो इन्जिनको मुख्य विशेषता हो । हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री गर्दै आएको भेन्यू अहिले निकै चर्चित मोडलको रुपमा रहेको छ ।
यसमा कम्पनीले आफ्नो चर्चित कपा ड्यूल भिटीभिटी टेक्नोलोजिको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा १२० पीएस पावर र १५०० देखि ४००० आरपीएममा १७१ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

हुन्डाई भेन्यू सुरक्षाको हिसावले अष्ट्रेलियन एनक्यापमा ४ स्टार रेटिङ्ग पाएको सब फोर मिटर एसयूभी हो । एयरव्याग, एबीएस इएससी, सिटबेल्ट रिमाइन्डर, लेन किपिङ एसिस्ट जस्ता फिचर यसमा रहेका थिए ।
साथै, भेन्यूले इन्डियन कार अफ दि एयर २०१९ को अवार्ड समेत जित्न सफल भएको थियो । भेन्यू हुन्डाईको चर्चित गाडी कोना र सान्ता फेबाट प्रेरित रहेको छ । यसमा हुन्डाईको चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरिएको छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ ।
इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचर यसमा रहेको छ । भेन्यू स्मार्ट कनेक्टेड गाडी हो । यसमा दिइएको ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न सकिन्छ । यसको सुरुवाति मूल्य ४३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
महिन्द्रा एक्सयूभी ३०० टर्बो पेट्रोल
अर्को सानो टर्बो इन्जिन भएको सब फोर मिटर एसयूभी हो महिन्द्रा एक्सयूभी ३०० । महिन्द्राले ल्याएको मोर्डन एसयूभी ‘एक्सयूभी ३००’ मा थुप्रै फिचर सेग्मेन्ट फर्स्ट रहेका छन् । नेपालमा अग्नी इनकर्पोरेट प्रालिले बिक्री गर्दै आएको एक्सयूभी ३०० मा ११९७ सीसी क्षमता टर्बो पेट्रोल इन्जिन रहेको छ ।
उक्त इन्जिनले अधिकतम ५००० आरपीएममा ११० हर्स पावर र २००० देखि ३५०० आरपीएममा २०० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा एक्सयूभी ३०० ले ५ स्टार रेटिङ्ग पाउन सफल भएको छ । यो एडल्ट र चाइल्ड दुबैको सुरक्षामा अहिलेसम्मको उत्कृष्ट भारतमा बनेको सब फोर मिटर एसयूभी हो ।
महिन्द्रा एक्सयूभी ३०० मा सुरक्षा फिचरको रुपमा स्टायडर्ड भेरियन्टमा दुई एयरव्याग, एबीएस, इबीडी, चारै चक्कामा डिस्क ब्रेक, सिट बेल्ट रिमाइन्डर, एयरव्याग एक्टीभेसन स्विच, फ्रन्ट पार्किङ सेन्सर र टप भेरियन्टमा ६ एयरव्याग दिइएको छ ।
महिन्द्राले यसमा किलेस इन्ट्री, पुश वटन स्टार्ट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार-प्ले, एन्ड्रोइड अटो, फ्रेब्रिक अपहोल्स्ट्री, लेदर-र्याप स्टेयरिङ्ग ह्वील र गियर नोभ, कन्ट्रोल, रिभर्स पार्किङ्ग क्यामरा गाइडलाइन, सिक्स वे एड्जस्टेबल ड्राइभर सिट, अटो हेडल्याम्प र वाइपरको विशेषता दिइएको छ ।
यसको अलवा, इलेक्ट्रीकल्ली फोल्डेबल ओरभीएमएस, एम्बीएन्ट इन्टेरियर लाइटिङ्ग, वान टचअप डाउन ड्राइभर साइड विन्डो, १७ इन्च आलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, सिल्भर फिनिश फ्रन्ट एन्ड रियर स्किड प्लेट दिइएको छ । यसको सुरुवाति मूल्य ३९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

