काठमाडौं । लगातार तीन वर्षदेखि घाटामा रहेको कोरियन अटो मेकर साङयोङको भविष्य अनिश्चित भएको छ । हालै मात्र साङयोङको सबैभन्दा ठूलो लगानीकर्ता (७४.६५ प्रतिशत शेयर पुँजी) महिन्द्रा एण्ड महिन्द्राको बोर्डले साङयोङको फ्रेश फण्डिङको आग्रहलाई अस्विकार गरेसँगै साङयोङको भविष्य अनिश्चित भएको हो ।
महिन्द्राको बोर्ड अफ डाइरेन्टरले जनाए अनुसार गत शुक्रबार मुम्बईमा बसेको बोर्ड बैठकले साङयोङ मोटर्सको आगामी ३ बर्षसम्ममा ५ सय बिलियन ओन (४०४ मिलीयन डलर) थप नगद लगानीको प्रस्ताव अस्विकृत गरेको हो ।
बोर्डले कम्पनीलाई कोभिड १९ ले उत्पन्न गरेर निम्त्याएको विश्वव्यापी आर्थिक संकटको बीच आफूले थप लगानी गर्न नसक्ने स्पष्टपार्दै अन्य लगानीकर्ता खोज्न समेत आग्रह गरेको छ ।
महिन्द्राले कम्पनी संचालन गराई राख्न अत्यावस्यक ४० बिलियन ओन भने एक पटकका लागि ३ महिना भित्रमा उपलब्ध गराउने निर्णय गरेको छ ।
महिन्द्रा एण्ड महिन्द्रालाई साङयोङको लगानी त्यति श्रेयकर देखिएको छैन । सन् २०११ मा कम्पनीको ठूलो हिस्सा खरिद गरेर कोरियन एसयूभीमा लगानी गरेको महिन्द्राले सन् २०१६ मा टिभोलीको लन्चपछि मात्र नाफा देखेको थियो । तर उक्त मोडलले पनि महिन्द्राको विश्वासमा खरो उत्रन सकेन ।
गत वर्ष मात्रै साङयोङले २८१.९ बिलियन ओन घाटा व्यहोरेको थियो । गतवर्ष साङयोङको आशा गरिएको मोर्डन फ्ल्यागसिप मोडल कोराण्डो नराम्रोसँग असफल भएको थियो । कम्पनीले कोभिड १९ को संक्रमण सुरु भएसँगै वर्षको सुरुवातबाट नै आफ्नो उत्पादन युनिट बन्द गरिसकेको छ ।
समाचारहरुमा आए अनुसार भारतीय लगानीकर्ता कम्पनीले कोरियन सरकारलाई डुब्न लागेको आफ्नो देशको कम्पनीलाई बचाउन साङयोङमा लगानी गरिदिन आग्रह गरेको थियो । तर, कोरियन सरकारले साङयोङमा लगानी गर्न नसक्ने प्रष्ट पार्दै सबैभन्दा ठूलो लगानीकर्ता समेत रहेको महिन्द्रालाई नै थप लगानी गर्न वा नयाँ लगानीकर्ताहरु खोज्न सुझाएको हो ।
नेपाल कनेक्सन
नेपालमा पनि साङयोङका एसयूभी एक दशकभन्दा अगाडिदेखि भित्रिइरहेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ हुँदै साङयोङको डिलरसीप हाल व्यापारी दिपक मलहोत्राको आइएमएस मोटर्ससँग रहेको छ ।
मलहोत्राले डिलरशीप लिएको सुरुका वर्षहरुमा साङयोङका लागि नयाँ शोरुम बनाउने तथा केही ब्राण्डिङका काम समेत गरेका थिए । तर राम्रो कोरियन ब्राण्ड भएता पनि बिक्री पछिको सेवा–आफ्टर सेल्स सर्भिस)मा ध्यान दिन नसकेका कारण नेपाली अटो बजार यो ब्राण्ड लगभग बन्दको अवस्थामा रहेको छ ।
नेपालमा पनि हालका वर्षहरुमा साङयोङको प्रति विश्वास घट्दै गएको अवस्थामा उत्पादकको नै भविष्य अन्योलमा रहेकाले नेपालमा पनि यो ब्राण्डको भविष्य राम्रो देखिदैन ।

