काठमाडौं । अहिले विश्व कोरोना (कोभिड १९) भाइरसको कारण लगभग बन्द जस्तै अवस्थामा रहेको छ । तर, भारत सरकारले ल्याएको नयाँ प्रदुषण मापदण्ड बीएस ६ को कारण २० मोडलका कार उत्पादन पूर्णरुपमा सधैको लागि बन्द हुने भएका हुन् ।
विभिन्न ब्राण्डले भारतमा प्लान्ट स्थापना गरेर उत्पादन गर्दै आएका यी मोडलहरु अब नयाँ उत्पादन हुने छैनन् । यसरी कारको उत्पादन बन्द हुनुमा यी मोडलको मागमा आएको कमी मुख्य कारण हुन् । टोयोटा, फियात, टाटा, फक्सवागन, निसान, रेनो, मित्सुवीसी जस्ता कम्पनीले आफ्ना उत्पादन बन्द गरेका हुन् ।
अहिले कोरोना भाइरसको कारण भारतमा संचालित सबै कम्पनीका प्लान्ट बन्द रहेका छन् । तर, कोरोना संक्रमण हटेसँगै कम्पनीका उत्पादन प्लान्ट खुलेपनि यी २० मोडलका गाडी उत्पादन हुने छैनन् ।
फियातले कुनै समय आफ्नो चर्चित रहेको पुन्तो, एभेन्चुरा र लिनिया मोडलको उत्पादन सधैको लागि बन्द गर्ने भएको हो । यी मोडलको बिक्रीमा आएको कमीका कारण कम्पनीले केही समयअघि देखिनै यी कारको उत्पादन घटाउँदै लगेको थियो । अब भने यी कार सधैको लागि बन्द भएका छन् ।
होन्डाले तत्कालको लागि आफ्नो बीआर–भी उत्पादन गर्ने छैन । यद्यपी कम्पनीले अर्को वर्षसम्ममा यसको नयाँ जेनेरेशन मोडल भने ल्याउने जनाएको छ । साथै बजारमा माग नभएपछि होन्डा एकर्डपनि भारतमा उत्पादन बन्द हुने भएको हो ।
अब भारतीय बजारमा मित्शुवीसीको आउट ल्याण्डर र पजेरो स्पोर्टपनि भारतमा बिक्री हुने छैन ।
निसानले भारतमा उत्पादन गर्दै आएको ग्लोवल मोडल माइक्रा र माइक्रा एक्टीभ पनि बीएस ६ मा उत्पादन हुने छैन । यसका साथै निसान सन्नी र टेरानोको उत्पादन पनि कम्पनीले रोक्ने घोषणा गरेको छ ।
रोनोले आफ्नो फ्लप मोडल लोजीको उत्पादन पूर्णरुपमा बन्द गर्ने भएको छ । भने स्कोडाले आफ्नो सेडान कार अक्टीभियाको बिक्री पनि बन्द गर्ने गरेको छ ।
आफ्ना मोडलको उत्पादन बन्द गर्नेमा टाटा पनि परेको छ । कम्पनीले जेष्ट, सफारी र बोल्टको उत्पादन सधैको लागि बन्द गर्ने भएको हो ।
टोयोटाले भारतमा उत्पादन गर्दै आएको इटियोस, इटियोस लिभा, कोरोला अल्टिस र इटियोस क्रस मोडलको उत्पादन पूर्णरुपमा बन्द गर्ने भएको हो । कम्पनीले अब यारिस, फर्च्यून, इनोभा र ग्यालेन्जाको मात्रै भारतमा उत्पादन गर्नेछ ।
फक्सवागनले आफ्नो सेडान कार एमियोको उत्पादन सधैको लागि बन्द गर्ने भएको हो ।

