लकडाउन खुकुलो पार्न र व्यवसाय संचालनको वातावरण निर्माण गर्न नाडाको माग

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जनतालाई बचाउन सरकारले २०७६ चैत्र ११ गते पहिलो पटक देशव्यापी रुपमा लकडाउन गरेको र अहिलेसम्म संक्रमण थपिने क्रम जारी रहेकाले लकडाउनको अवधि २०७७ बैशाख २५ गतेसम्म थपिएको जुन नागरिकको जिवन रक्षाको लागि ठिक कदम रहेको छ ।

तर, लकडाउनको अवधि थपिदै गएसंगै अन्य विभिन्न समस्याहरु पनि थपिदै गएको सन्दर्भमा आमनागरिक कै सर्वौपरी हितका लागि लक डाउनलाई केही खुकुलो बनाउनु पर्ने आवश्यकता देखिएको छ ।

कोरोना भाइरसको ठूलो चुनौती हुँदा हुंदै पनि आज केही युरोपेली मुलुकहरुले आमनागरिकको दैनिकी र आफनो अर्थतन्त्रलाई केही चलायमान बनाउन लकडाउनलाई केही खुकुलो बनाउँदै लगेका छन् । आजको सन्दर्भमा नेपालले पनि यस्तै नीति अवलम्बन गर्नु पर्ने वाध्यात्मक अवस्था देखिएको छ ।

देशको अर्थतन्त्रलाई केही मात्रामा भए पनि चलायमान बनाउन र आम जनसमुदायको दैनिकीलाई केही सहज बनाउन पनि लक डाउनलाई खुकुलो बनाउनु पर्ने नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै, नाडाले लकडाउनका कारण अटोमोवाइल व्यवसायी पनि ठूलो मारमा परेको र उनिहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने अवस्थाबाट जोगाउन सरकारले निम्न विषयहरुमा राहत प्याकेज ल्याउनु पर्ने माग गरिएको छ ।

१. अटोमोवाइल उद्योग, वर्कशप, शो रुम र कार्यालयमा कार्यरत कर्मचारीलाई दिनु पर्ने तलवका विषयमा नेपाल उद्योग वाणिज्य महासंघले तय गरे अनुसार लकडाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गरिनु पर्ने । त्यसैगरी श्रमिकलाई भुक्तानी गर्नु पर्ने पारिश्रमिक, रोजगारदाता, श्रमिक र सरकार तीन ओटै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्ने व्यवस्था गर्नु पर्ने । लकडाउनको अवधि थप लम्बिदै गएको अवस्थामा स्थितिको मूल्याङ्कनगरी पारिश्रमिक भुक्तानी स्थगित गर्नु उपयुक्त हुने ।

२. भन्सार परिसरमा भएका सवारी साधन तथा स्पेयस पार्टस लगायतका बस्तुहरुमा लाग्ने डेमरेज चार्ज मिनाहा हुनु पर्ने । त्यसैगरी भारत तथा तेश्रो मुलुकबाट आयातको क्रममा रहेको कन्टेनरहरुको, कन्टेनर डिटेन्सन चार्ज पनि सतप्रतिसत मिनाहा हुनु पर्ने ।

३. नेपाल राष्ट्र बैङ्कको हालै प्रकाशित निर्देशन अनुसार २ प्रतिशत बैङ्कको व्याज घटाउने निर्णय सकारात्मक र उत्साहजनक छ । यसै सन्दर्भमा बैङ्कहरुले पनि यो उत्तरदायित्व बुझेर आ—आफनोतर्फबाट पनि केही छुटको घोषणा गर्नु पर्ने । साथै, व्यवसायको संरक्षणका लागि बैङ्क व्याजको किस्ता तिर्ने समयावधि ६ महिनासम्म थप गरिनु पर्ने ।

४. मूल्य अभिवृद्धि कार तिर्ने समय २०७७ साल जेठ २५ गतेसम्म पु¥याउनु पर्ने ।

५. देशको अर्थतन्त्रलाई केही चलायमान बनाउन अव २०७७ बैशाख २६ गते देखि व्यापार व्यवसाय र उद्योगक्षेत्रलाई शुरक्षित बनाउदै आफनो व्यापार व्यवसाय सञ्चालनको लागि लकडाउन खोल्नु पर्नेछ । अव पनि लकडाउन अवधि थपिएमा उद्योगी तथा व्यवसायीहरु धरासायी हुने छन् ।

६. लकडाउन खुले पछि नाडाले आफनो व्यापार व्यवसाय सञ्चालनका लागि सुरक्षीत भएर सामाजिक दुरी कायम गर्ने निर्देशनलाई अवलम्बन गर्न आफ्ना सदस्य कम्पनीहरुलाई जानकारी गराउने उद्देश्यले सुरक्षा अवधारणा बनाएर अघि बढने छ ।


Back_to_top