काठमाडौं । नेपाल आयल निगमले एक लिटर पेट्रोलमा २२ रुपैयाँ ४५ पैसा नाफा लिइरहेको छ । हरेक महिनाको दुई पटक मूल्य समायोज गर्ने भन्दै आएको आयल निगमले लकडाउन पछि एकपटक मात्र मूल्य समायोजन गरेको हो । अहिले आयल निगमले इन्डियन आयल कर्पोरेशनसँग १३ रुपैयाँ ४० पैसामा पेट्रोल किनिरहेको छ । तर, उपभोक्ताले भने ९६ रुपैयाँ ७५ पैसा तिर्नु पर्छ ।
सरकारले एक लिटर पेट्रोलमा ४२ रुपैयाँ ७५ पैसा ट्याक्स लिदै आएको छ भने, ढुवानी वापत ६ रुपैयाँ खर्च लाग्ने आयल निगमले जानकारी दिएको छ । उता निगमले १३ रुपैयाँ १९ पैसामा किनेर ल्याएको डिजेल अहिले बजारमा ८५ रुपैयाँमा बिक्री गरिरहेको छ । डिजेलमा सरकारले विभिन्न शिर्षकमा २६ रुपैयाँ १५ पैसा कर लगाएको छ । ढुवानी खर्च डिजेलमा पनि प्रति लिटर ६ रुपैयाँ लाग्ने छ । यसरी प्रतिलिटर डिजेलमा २५ रुपैयाँ ५९ पैसा नाफा लिइरहेको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार निगमले पछिल्लो २ पटक मूल्य समायोजन नगरेको र तत्काल समायोजन नहुने बताए । तर, विश्व बजारमा तेलको मूल्य अझै घट्दै गइरहेको छ ।
पौडेलले हाल भारतले पनि मूल्य नघटाएकोले नेपालमा पनि तेलको मूल्य नघटाइएको बताए । ‘अहिले तत्काल मूल्य घटाइयो भने पछि फेरी बढ्दा जनतामा मार परे जस्तो हुन्छ, त्यसैले अहिले कुनै देशले पनि तेलको मूल्य घटाएका छैनन्,’ पौडेलले मेरोअटोसँग भने ।

