काठमाडौं । नेपालमा मोटरसाइकलमा कति कर लाग्छ भन्ने विषय प्रायः सबैलाई जानकारी रहेको विषय हो । अर्थमन्त्री डा. यूवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६को बजेटले मोटरसाइकलमा अत्याधिक कर थप गरेका थिए । तर, २०७६/७७ को बजेटले मोटरसाइकलको करमा कुनै परिवर्तन गरेको थिएन । उक्त बजेटले १५५ सीसीसम्मका मोटरसाइकललाई सुरुवाति कोटामा राखेको थियो ।
आर्थिक वर्ष २०७५/७६ अघि फ्ल्याटमा ४० प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा २०७५/७६को बजेटले अन्तःशुल्क सीसीका आधारमा तहगतरुपमा लागु गर्न सुरु गरेको थियो ।
अहिले सबै किसिमका इन्जिन भएका मोटरसाइकलमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ ।
अन्तःशुल्क भने १५५ सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत, १५५ सीसीमाथि २५० सीसीसम्मका बाइकमा ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ ।
त्यसैगरि, २५० सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएको भने ५०० देखि ८०० सीसीसम्मको बाइकमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । ८०० सीसीभन्दा माथिका सम्पूर्ण बाइकमा १०० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।
सरकारले उक्त बजेटबाटै सडक दस्तुर पनि निकै बढाएको थियो । अहिले १५५ सीसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नु पर्छ । त्यस्तै १५५ सीसीभन्दा माथि २५० सीसीसम्मका बाइकले १८ हजार र २५० देखि ४०० सीसीसम्मका बाइकले ५० हजार सडक दस्तुर तिर्नु पर्ने व्यवस्था रहेको छ ।
४०१ सीसीभन्दा माथिका बाइकले सडक दस्तुर नै एकमुष्ट २ लाख रुपैयाँ तिर्नु पर्छ । भ्याट रकम वापत सबै किसिमका मोटरसाइकलले १३ प्रतिशत तिर्नु पर्ने हुन्छ । भारतबात एलसी खोलेर मगाईएका मोटरसाइकलको हकमा ३० प्रतिशत भन्सार शुल्कको १.५ प्रतिशत रकम छुट पाउदै आएका छन् ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट आज प्रस्तुत गर्दैछ । यस वर्षको बजेटले करका दरमा कुनै परिमार्जन गर्छ वा गर्दैन त्यो धेरैको चासोको विषय बनेको छ ।


