काठमाडौं । एमजी मोटर्सको नेपालको लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले १२० वटा इलेक्ट्रीक कार भन्सार छुटाएको विषयलाई लिएर विभिन्न संचार मध्यमहरुमा प्रकाशित आफ्नो संस्था र विद्युतीय सवारी साधन सम्बन्धी प्रकाशन भएको समाचारहरु प्रति कम्पनीको ध्यानाकर्षण भएको जनाएको छ ।
‘समाचारहरुमा सरकारी सूचना चुहावट गरी/गराई अनावश्यक लाभ लिन बजेटको एक दिन अगाडि सवारी साधन भित्र्याउन यो संस्थाको भूमिका रहेको भन्ने कपोलकल्पित नकारात्मक समाचारहरुले अनावश्यक भ्रम फैलाउनुका साथै हाम्रो मान प्रतिष्ठामा पनि आँच पुर्याएको छ, त्यसैले यस बिषयमा हामी हाम्रा ग्राहकवर्ग एवं जनसमुदायलाई यस प्रेस विज्ञप्तिद्वारा त्यस्ता भ्रामक समाचारहरुबाट विचलित नहुनका लागि अनुरोध गर्दछौं’, भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘हामीले केही महिना अगाडि हाम्रा ग्राहकले अग्रिम बुकिङ्ग गरेको आधारमा एमजी मोटर्सका विद्युतीय सवारी साधनको प्रतितपत्र (एलसी) खोली आयात गरेका थियौं र सोहि क्रममा ती सवारी साधनहरु नेपाल भित्रिन थालेका थिए । यसरी विभिन्न समयमा खोलिएका प्रतितपत्र अन्तर्गतका सवारी साधन नेपाल ल्याउने क्रममा नेपाली सीमामा आई पुगेका थिए र भन्सार छुटाउनु अघि ड्राइ पोर्टमा धेरै दिन कन्टेनरमा सवारी साधन राख्नु पर्दा ढिलाई बापतको क्षति शुल्क तिर्नु पर्ने हुनाले हामीले सधैं समयमै भन्सार छुटाई सवारी साधनलाई नेपाल भित्र्याउने गरेका थियौं र सोहि अनुसार उल्लिखित मितिमा हामीले यी सबै सवारी साधन पनि नेपाल भित्र्याएका हौं ।’कम्पनीको सबै सवारी साधन केही महिना अगाडि नै नेपाल आई पुग्नु पर्ने थियो तर, कोभिड १९ का कारण ढिलाई हुन पुगेको र बजेटलाई मध्येनजरगरि झिकाईएको भन्ने समाचार सहि नभएको विज्ञप्तीमा उल्लेख छ ।
| LC नं. | LC मिति | सवारी साधन संख्या | भन्सार छुटाएको मिति |
| EB0020FOU00738 | २९ कार्तिक २०७६ | १५ | २०७७ बैसाख १७ गते |
| EB0020FOU00756 | १३ मंसिर २०७६ | ३० | २०७७ बैसाख १७ गते |
| EB0020FOU00775 | ०८ पौष २०७६ | ७५ | २०७७ जेष्ठ ०७ गते |
‘कम्पनीले विभिन्न मितिमा सबै सवारी साधन चलानगरि नेपाल पठाएकोले त्यसरी नै हामीले प्राप्त गरेको र सोहि अनुसार भन्सार छुटाई नेपाल भित्राएका हौँ । हामीले हाम्रा ग्राहकले अग्रिम बुकिङ्ग गरेका माथि उल्लेखित १२० सवारी साधन सोहि बुकिङ्ग मूल्यमा नै बुकिङ्ग प्राथमिकताको आधारमा आफ्ना ग्राहकलाई हस्तान्तरण गर्ने र यसमा नयाँ भन्सार दरबाट पर्न आउने कुनै पनि असर नपर्ने हुँदा विभिन्न समाचार मार्फत यस कम्पनीलाई बढेको करबाट अनावश्यक फाइदा लिन खोजेको भनेर लगाइएको आरोप गलत र झुटो रहेको स्पष्ट पार्न चाहन्छौं’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘पारामाउन्ट मोटर्सबारे पछिल्ला केही दिनमा संचारमाध्यममा प्रकाशित समाचारहरुले हामीलाई निराश बनाएको छ । एमजी मोटर्सका गाडी नेपाल भित्रिनु र बजेट भाषणसँग यसको कुनै सम्बन्ध नरहेको पनि यहाँहरु समक्ष जानकारी गराउन चाहान्छौं । हामीले सम्पूर्ण प्रक्रिया पुरा गरेर प्रतितपत्र अनुसार ड्राइ पोर्टमा पुगेका गाडीहरु भित्र्याएका हौ । हामी सधैं पारदर्शी नैतिक व्यवसाय गर्न समर्पित रहेको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं । संचार माध्यमहरुमा आएका भ्रामिक समाचारहरुले ग्राहकवर्गमा नकारात्मक सन्देश प्रवाह हुने हुँदा समग्र संचारकर्मीहरुलाई समाचारको सत्य तथ्य बुझेर प्रकाशन गरिदिनु हुन आग्रह गर्दछौं’, पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले भने ।


