होन्डा र बजाजले ल्याए नयाँ अफर, कुन ब्राण्डको मोटरसाइकल किन्दा धेरै फाइदा

काठमाडौं । लामो समयको लकडाउन जारी नै रहेको छ । ७६ दिनदेखि सबै व्यवसाय र व्यापार बन्द प्रायः रहेको छ भने मानिसहरु घरमा नै बसेर कोभिड १९ विरुद्धको लडाई लडिरहेका छन् ।

लकडाउन खुकुलो बनाउदै काम अगाडी बढाउने तयारीमा सरकार लागेको छ । आगामी जेठ ३२ गतेसम्मको लागि लकडाउन जारी नै रहेको छ । यस्तोमा केही मोटरसाइकल बिक्रेता कम्पनीहरुले लकडाउनपछि मोटरसाइकल किन्न चाहनेहरुको लागि नयाँ योजना सार्वजनिक गरिसकेको छन् ।

होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ र बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले लकडाउनपछि मोटरसाइकल किन्ने ग्राहकलाई आकर्षित गर्न आ–आफ्नो योजना सार्वजनिक गरिसकेका छन् । यस्तोमा मोटरसाइकल किन्न चाहने ग्राहकलाई कुन कम्पनीको योजना राम्रो भन्ने अन्योलता हुन सक्छ । यस्तोमा हामीले दुबै कम्पनीका योजनालाई नियाल्ने प्रयास गरेका छौं ।

अहिलेको योजना अनुसार होन्डाले १ रुपैयाँ मासिक किस्ता र १ रुपैयाँ डाउन पेमेन्टको अफर अगाडि ल्याएको छ । यी दुबै योजनाको फाइदा ग्राहकले तत्काल पैसा नहुँदा पनि मोटरसाइकल लिएर आउने सुविधा पाउने छन् ।

उहि बजाजले मोटरसाइकल किन्न चाहने ग्राहकलाई १२ हजार रुपैयाँसम्म एक मुष्ठ नगद छुट दिने घोषणा गरेको छ । यसले पैसा भएका ग्राहकले तत्काल छुट लिएर त्यसको फाइदा लिन सक्ने छन् ।

एक रुपैयाँ मासिक किस्तामा होन्डाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले सुरुमा ४० प्रतिशत डाउन पेमेन्ट गर्दा पहिलो तीन महिनासम्म १ रुपैयाँ किस्ता तिर्ने सुविधा पाउने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गर्दा पहिलो ६ महिना, ६० प्रतिशत डाउनपेन्ट गर्दा पहिलो ९ र ७० प्रतिशत डाउन पेमेन्ट गर्दा एक वर्षसम्म १ रुपैयाँ मात्र तिर्दा हुन्छ । तर, बाँकी सबै रकम २ वर्ष भित्र तिरिसक्नु पर्ने हुन्छ ।

बजाजले ल्याएको २० प्रतिशत डाउन पेमेन्ट सुविधामा ग्राहकले बाँकी रकम २ वर्षमा तिर्नेगरि किस्ता बनाउन सक्ने छन् । साथै, उनिहरुले निश्चित रकम छुट बापत पाउने छ । यो योजनामा मोटरसाइकल किन्दा तत्काल ४० प्रतिशत डाउन पेमेन्ट तिर्ने झन्झबाट ग्राहक मुक्त हुने छन् । यसरी हेर्दा यी दुबै योजना राम्रा छन् । तर, सुरुवातमा डाउन पेमेन्ट तिर्ने रकम धेरै नहुनेलाई बजाजको योजना राम्रो हुन सक्छ ।

होन्डाले ल्याएको अर्को योजनामा एक प्रतिशत व्याजमा मोटरसाइकल तथा स्कुटर किन्न सकिने भन्ने छ । यस योजना प्रयोग गर्न चाहने ग्राहकले ६० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने लोनको अबधि १ बर्षको मात्र हुनेछ ।

बजाजले ल्याएको सून्य प्रतिशत व्याजदरको योजनामा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी रकम २ वर्षको किस्ता बनाएर तिर्न पाउने छन् ।
होन्डाले तीन वर्षसम्मको कर्जा वा २० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर किन्न सक्ने योजना पनि अगाडि ल्याएको छ । बजाजले भने कोभिड १९ को लडाईमा अग्रभागमा रहेर काम गर्ने मानिसलाई थप सुविधा दिने घोषणा गरेको छ ।

कस्को योजना राम्रो ?

दुबै कम्पनीले लामो लकडाउन र समयमा तलव पाउन नसकेका मानिसलाई केन्द्रमा राखेर आफ्ना योजना सार्वजनिक गरेका छन् । अहिले मानिसको कमाई घटेको समयमा पनि आवश्यकताको सवारीसाधन किन्न सकुन् भनेर दुबै कम्पनीले आफ्नो योजना अगाडि ल्याएको देखिन्छ ।

मोटरसाइकल किन्न चाहने ग्राहकले यी दुबै कम्पनीका योजनालाई राम्रोसँग बुझेर आफ्नो निर्णय गर्ने हो भने दुबै कम्पनीले ल्याएको योजनाबाट फाइदा लिन सक्ने छन् ।

दुबै ब्राण्ड नेपालमा चल्तीका ब्राण्ड हुन् । यी दुई कम्पनी नेपालमा सर्वाधिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने कम्पनीसमेत हुन् ।


Back_to_top