काठमाडौं । लकडाउनको कारण बिक्री सुरु गर्न नपाएको एक्स्ट्रीम १६० आर भारतीय बजारमा बिक्री सुरु भएको छ । कम्पनीले दुई भेरियन्टमा यसको बिक्री सुरु गरेको हो । ग्राहकलाई डेलिभरी भने अर्काे हप्ताबाट सुरु हुने जनाइएकाे छ ।
जयपुरमा भएको हिरो वर्ल्ड २०२० मा प्रर्दशन गरेको यो मोटरसाइकललाई कम्पनीले सिगंल डिस्क र डबल डिस्क भेरियन्टमा सार्वजनिक गरको हो ।
हिरो एक्स्ट्रीम १६० आर अहिले निकै चर्चामा रहेको मोटरसाइकल हो । १६० सीसी क्षमताको नयाँ इन्जिनमा मोर्डन लुक्स र फिचरसहित आएको एक्स्ट्रीम १६० आरले यो सेग्मेन्टमा सबै कम्पनीलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
हिरो एक्स्ट्रीम १६० आरको बजारमा सिधा प्रतिस्पर्धा टीभीएस अपाचे १६० फोर भी, बजाज पल्सर एनएस १६०, यामाहा एफजेड भी थ्री, होन्डा एक्सव्लेड जस्ता मोडलसँग हुने देखिन्छ ।
यो सेग्मेन्टमा रहेका मोटरसाइकलको तुलनामा हिरोको नयाँ इन्जिन निकै उत्कृष्ट रहेको दाबी कम्पनीले गरेको छ । यसमा १६० सीसी सिंगल सिलिण्डर एयरकुल्ड एफआई बीएस ६ इन्जिन दिइएको छ । उक्त इन्जिनले १५ हर्स पावर र १४ एनएम टर्क प्रदान गर्नेछ । माइलेजको हिसावले यो सेग्मेन्टमै धेरै माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।
नेपालमा हिरो मोटरसाइकलको आधिकारीक वितरक एनजीएमले अबको केही समयपछि यसको परिक्षण गर्ने जनाएको छ ।
‘नेपाली सडकमा हामी परिक्षण गर्छौ । परिक्षणपछि उत्कृष्ट लागेका यो मोटरसाइकल नेपाल आउने छ’, एनजीएमका चेयरम्यान अभिक ज्योतिले मेरोअटोसँग भने ।
यसमा पुर्ण एलइडी लाइट तथा हजार्ड लाइटसमेत दिएको छ । यसका साथै साइड स्ट्यान्ड इनर्जी कट अफ सिस्टम उपलब्ध रहेको छ । यो मोटरसाइकलमा कम्पनीले सिंगल च्यानल एबीएस दिएको छ । साथै यसमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
कम्पनीले हिरो एक्स्ट्रीम १६० आरको सिगंल डिस्क भेरियन्टको एक्स शोरुम मूल्य ९९ हजार ९५० र डबल डिस्क भेरियन्टको १ लाख ३ हजार भारतीय रुपैयाँ तोकेको छ । नेपाली बजारमा आउँदा यो मोटरसायकलको मूल्य ३ लाख ३० हजारदेखि ३ लाख ४० हजारसम्म पर्ने अनुमान गरिएको छ ।

