काठमाडौं । उपत्यकाका तीन जिल्लामा रहेका गाडी तथा मोटरसाइकलका सम्पूर्ण शोरुम तथा सर्भिस सेन्टरहरु एक हप्ताको लागि बन्द हुने भएका छन् । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज राति १२ बजेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेकाले भोलिबाट सबै किसिमका सवारीसाधनको बिक्री तथा मर्मत केन्द्रहरु बन्द हुने भएका छन् ।
पछिल्ला दिनमा उपत्यकामा दैनिक ठूलो संख्यमा कोरोना संक्रमणका बिमारी बढ्दै गएकाले स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेका हुन् । यसरी बन्द भएका सबै शोरुमहरु भदौ ११ गतेबाट मात्र संचालनमा आउने छन् ।
‘लकडाउन सकिएसँगै गाडी तथा मोटरसाइकलको बिक्रीमा बढोत्तरी आएको थियो । तर, संक्रमण फैलने डरले निषेधाज्ञा जारी भएको छ । एक हप्तापछि खुल्दा पनि यहि अवस्था हुने हो । त्यसैले सबैलाई जागरुक गर्दै व्यवसाय संचालनलाई निरन्तरता दिनु पर्ने हो । तर, सरकारले घरमै मानिसलाई थुनेर संक्रमण रोक्छु भन्ने सोचेको छ । यसले व्यवसाय कमजोर बन्ने बाहेक अन्य फाइदा गर्ने हामीले देखेका छैनौ’, नाडा अटोमोवाइल्स एसोशिएसन आफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाले भने ।
पछिल्ला दिनमा मोटरसाइकलको विक्री निकै राम्रो भइसकेको थियो भने कार, जीप र भ्यानको बिक्री नियमित समयको झण्डै ६० प्रतिशत हाराहारीमा पुगेको थियो । पुन निषेधाज्ञाले फेरी पनि व्यवसायमा संकट पर्ने चिन्तामा आफुहरु रहेको व्यवसायीहरुको भनाई छ ।


