काठमाडौं । भारतमा यो हप्ता दुई सब फोर मिटर एसयूभीको बुकिङ खुल्ला हुने भएको छ । कियाले आफ्नो सब फोर मिटर एसयूभी सोनेट र टोयोटाले अर्वान क्रुजरको बुकिङ खुल्ला गर्ने भएको हो ।
कियाले सोनेट र टोयोटाले अर्वान क्रुजरको बिक्री सेप्टेम्बरबाट भारतमा सुरु गर्ने योजना बनाएर बुकिङ लिन सुरु गर्न लागेका हुन् ।

किया सोनेट ग्लोवल मोडल हो भने टोयोटा अर्वान क्रुजर भारतीय बजारमा टोयोटाले ल्याउन लागेको सब फोर मिटर एसयूभी हो । कियाले भारतमा बनाएको दोस्रो मोडलको रुपमा सोनेट आउने छ भने टोयोटाले मारुती सुजुकीसँगको सहकार्यमा ल्याउन लागेको दोस्रो मोडल अर्वान क्रुजर हो । यसअघि टोयोटाले मारुती सुजुकी बलेनोलाई ग्लान्जा बनाएर बिक्री सुरु गरेको थियो । अर्वान क्रुजर भिटारा ब्रेजालाई केही परिमार्जन सहित ल्याउन लागेको मोडल हो ।
यसअघि कियाले भारतमा सेल्टोस सार्वजनिक गरेको थियो । किया सेल्टोसको सफलताबाट हौसिएको कियाले अब सोनेट बजारमा उतार्न लागेको हो ।

एउटै सेग्मेन्टमा आउन लागेका यी दुबै कारमा टोयोटा अर्वान क्रुजर केही महंगो हुने अनुमान गरिएको छ । किया सेल्टोसको मूल्य ७ देखि ११ लाख रुपैयाँ हुने अनुमान गरिएको छ भने टोयोटा अर्वान क्रुजरको मूल्य ८ लाखबाट सुरु हुने अनुमान गरिएको छ ।
भारतमा भाेलिबाट बुकिङ सुरु हुने अर्वान क्रुजरको लागि बुकिङ रकम ११ हजार भारु तोकिएको छ । त्यसैगरि हिजाेबाट बुकिङ सुरु भएकाे सोनेट किन्न चाहने ग्राहकले बुकिङ रकम २५ हजार भारु तिर्नु पर्छ ।
यी दुई सब फोर मिटर एसयूभीमा किया सोनेट नेपाल आउने छ भने टोयोटा अर्वान क्रुजर नेपाल तत्काल आउने छैन ।


