काठमाडौं । नेपालमा अहिले विभिन्न कम्पनीका १ लाख १५ हजारदेखि १ करोड ४३ लाखसम्मको मोटरसाइकल किन्न पाइन्छ । यस्तोमा मोटरसाइकल किन्न चाहनेहरुलाई कुन राम्रो भन्ने अन्योलता हुन सक्छ ।
करिब दुई दर्जन ब्राण्डका मोटरसाइकल नेपालमा बिक्री वितरण हुँदै आएका छन् । त्यसमा होन्डा, बजाज, यामाहा, टीभीएस, हिरो, सुजुकी, रोयल इन्फिल्ड लगायतका मोटरसाइकल निकै बिक्री हुनेमा पर्छन् ।
यस्तोमा कुन कम्पनीको मोटरसाइकल किन्दा ठिक हुन्छ भन्ने अन्योलता धेरैमा हुने गरेको छ । त्यसैले नयाँ मोटरसाइकल किन्नुअघि केही कुरामा ध्यान दिन आवश्यक हुन्छ ।
आरामदायी र सुरक्षीत
दुई पाङ्ग्रे सवारी साधन चलाउँदा सजिलो, आरमदायी र सुरक्षीत हुन जरुरी छ । यदी तपाई लामो यात्रा गर्ने मानिस हुनुहुन्छ भने यस्ता विषयमा ध्यान दिन जरुरी हुन्छ ।
आफ्नो क्षमता र आवश्यकता
नयाँ मोटरसाइकल किन्नुअघि आफुले कुन प्रयोजनको लागि कति मूल्यसम्मको मोटरसाइकल किन्ने हो त्यस विषयमा निर्णय गर्नु पर्छ । यसरी निर्णयगर्दा भविष्यमा काम गर्न पनि सजिलो हुन्छ भने आर्थिक भारपनि खासै पर्दैन ।
बजारमा अहिले दैनिक काममा जान, लामो यात्रा गर्न, पारिवारसहित घुम्न निस्कन, रेसिङ, स्पोर्टस जस्ता मोडल किन्न सकिन्छ । त्यसैले आफ्नो प्रयोजन बुझेर किन्दा पछि दुःख पाउनु पर्दैन ।
आफ्नो आवस्यकता छुट्टाएपछि बजेटमा ध्यान दिनु पर्छ । सकभर बजारमा नगद नै तिरेर मोटरसाइकल किन्दा फाइदा हुन्छ । नगदमा किन्दा छुट पाइने तथा व्याजपनि नपर्ने हुँदा फाइदा हुन्छ ।
यदि तपाईसँग एकै पटक सबै रकम तिरेर मोटरसाइकल किन्न सक्ने अवस्था छैन भने विभिन्न कम्पनीले ल्याएका कर्जा अफर हेरर उपयुक्त अफरमा मोटरसाइकल किन्न पाईन्छ ।
मोटरसाइकल किन्ने निधो गरेसँगै त्यसको बीमा गर्ने कम्पनी छनोट गर्नु उपयुक्त हुन्छ । बीमा नगरि शोरुमबाट मोटरसाइकल लिएर बाहिर निस्कनु हुँदैन ।
बजारमा उपलब्ध मोटरसाइकलका प्रकार
कम्यूटर सेगमेन्ट नेपालमा सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल हो । दैनिक कामकाजमा निस्कने मानिसहरुको रोजाईमा पर्ने यो सेग्मेन्टको मोटरसाइकल विशेषत सहरी क्षेत्र र तराईको भागहरुमा बढी बिक्री हुने गरेको छ । यो सेग्मेन्टमा १५० सीसीसम्मका कम मूल्यका मोटरसाइकल पर्ने गर्छन् ।
नेकेड मोटरसाइकल नेपालमा दोस्रो धेरै बिक्री हुनेमा पर्छ । नेकेड मोटरसाइकलहरु विशेषत पावर राइडिङ लागि प्रसिद्ध रहेको छ । अग्लो सिट हाइट र पावरफुल इन्जिनका कारण नेकेड मोटरसाइकल नेपालमा चर्चित रहेको छ ।
डर्ट मोटरसाइकल अर्को नेपालमा निकै रुचाइएको मोटरसाइकल हो । विशेषत पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्नेहरुको रोजाइमा यो मोडल पर्ने गरेको छ । यस मोडललाई अन्तर्राष्ट्रिय बजारमा डियूल स्पोर्टस मोडल भन्ने गरिन्छ ।
क्रुजर मोटरसाइकल आरामदायी यात्राको लागि निकै चर्चित मोटरसाइकल हो । लामो ह्वील वेस र होचो सिटका कारण धेरै मानिसको रोजाईमा क्रुज मोटरसाइकल पर्ने गरेको छ ।
पछिल्लो दिनमा एडभेञ्चर मोटरसाइकलको बिक्री बढ्दै गएको छ । हिरोले नेपाली बजारमा एक्सपल्स २०० ल्याएसँगै यो सेग्मेन्टको बिक्री उच्च भएको छ । यस्ता मोटरसाइकल लामो अनरोड र अफरोड दुबैको लागि चर्चित हुँदै गएका छन् ।
स्पोर्टस मोटरसाइकल नेपालमा खासै धेरैको छनोटमा पर्दैनन् । महंगो मूल्य, पावरफुल इन्जिन र उत्कृष्ट लुक्स भएका स्पोर्टस मोटरसाइकल चलाउन मिल्ने सहरी बाटाहरु नभएकोले पनि नेपालमा यस्ता मोटरसाइकल धेरै बिक्री भएको हुन सक्छन् ।


