ओकिनवाको R30 इलेक्ट्रीक स्कुटर सार्वजनिक, चाँडै मोटरसाइकल पनि आउने

काठमाडौं । ओकिनवाले भारतीय बजारमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले R30 इलेक्ट्रीक स्कुटरको मूल्य ५८ हजार ९९२ भारतीय रुपैयाँ तोकेर बजारमा ल्याएको हो ।

यो स्कुटरको उच्चगति क्षमता २५ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यसमा १.२५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ ।

एकपटकको फुलचार्जमा यसलाई ६० किलोमिटरसम्म चलाउन सकिने छ । फुलचार्ज गर्न भने ४ देखि ५ घन्टाको समय लाग्ने छ । यसमा कम्पनीले माइक्रो चार्जर उपलब्ध गराउने जनाएको छ । उक्त माइक्रोचार्जरको सहायताले स्कुटर फुलचार्ज भए पश्चात् अटो कट हुने बताइएको छ । ग्राहकले व्याट्रीमा ३ वर्षको वारेन्टी पाउन सक्ने छन् ।

यसका अलावा कम्पनीले इलेक्ट्रीक मोटरसाइकल समेत ल्याउने तयारी गरेको छ । कम्पनीले २०२०–२०२१ को तेस्रो क्वाटरमा आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल ल्याउने तयारी गरेको जनाएको छ । कम्पनीले ‘ओकि १००’ मोटरसाइकल ल्याउने भएको हो । यो मोटरसाइकल १०० किलोमिटर टप स्पीड क्षमता रहने छ ।

नेपालमा पनि लामो समयदेखि आउने भनिएको ओकिनवा कोभिडको कारण आउन नसकेको बताइएको छ ।


Back_to_top