काठमाडौं । विश्वमा सवारी साधनको निर्माण र विकासक्रमसँगै चालक विहिन सवारी साधनको समेत परिकल्पना गरिएको थियो । चालक विहिन गाडीको पहिलो परिक्षण सन् १९२० मै भएको मानिन्छ । तर, विश्वले नै थाहापाउनेगरि स्वचालित कारको परिक्षण भने सन् १९८० कार्नेगी मेलन युनिभर्सिटीको ‘न्याभल्याब’मा एलभी प्रोजेक्ट अन्तर्गत भएको थियो । पछि सन् १९८७ मा मर्सिडिज बेञ्जले बुन्डर्सफयर्स युनिभर्सीटी म्युनिखको प्रोमिथस प्रोजेक्टमा यस्तो कारको परिक्षण गरेको थियो ।
पछिल्लो समयमा सबै मुख्य अटोमोवाइल कम्पनीहरुले अटोनोमस (सेल्फ ड्राइभिङ) कारको परिक्षण गरिरहेका छन् । यो दौडमा मर्सिडिज बेञ्ज, जनरल मोटर्स, कन्टिनेन्टल अटोनोमस सिस्टम, बोस, निसान, टोयोटा, अउडी, भल्भोदेखि गुगलसम्मले यो प्रविधिको परिक्षण गरिरहेका छन् । सन् २०१३ मा पहिलो पटक भि-सल्याबले पब्लिक ट्राफिकमा नै यस प्रविधि देखाएको थियो ।

सन् २०१९ सम्ममा अमेरिकाको २९ स्टेटहरुले अटोनोमस कार चलाउने कानून पास गरिसकेका छन् । युरोपियन देशहरु बेल्जियम, फ्रान्स, इटली तथा युकेले चालक विहीन ट्रास्पोर्टेसन चलाउने योजना बनाइरहेका छन् । त्यस्तै अन्य युरोपियन देशहरु जर्मन, नेदल्याण्ड तथा स्पेनले पब्लिक ट्राफिकमा यस्ता कारहरु परिक्षण गर्ने अनुमती दिएका छन् । यसै बर्षमा इयु र जापानले अटोनोमस कार ट्रायाक गर्नका लागि कानून तर्जुमा गर्दैछन् ।
व्यवहारिक रुपमा भने सन् २०१४ मा पहिलो पटक विश्व अटो बजारमा अमेरिकी लग्जरियस इलेक्ट्रिक कार कम्पनी टेष्लाले सेमी अटोनोमस कार प्रयोगमा ल्याएको हो । टेस्लाको मोडल एसमा प्रयोग भएको यस प्रविधिलाई ‘अटोपाइलट‘ नाम दिएको छ । सुरुमा मोडल एसमा प्रयोग भएको यो टेक्नलोजीको पहिलो भर्सनको रुपमा आएको थियो । यसमा लेन कन्ट्रोल सहितको अटोनोमस स्टेरिङ तथा सिग्नल र इमेज रिकग्नाइज गरेर ब्रेकिङ र स्पीड लिमिट एडजस्मेन्ट गर्ने प्रविधि जडान भएको थियो । यो सिस्टममा अटोनोमस पार्किङ समेत रहेको छ भने, पछिल्ला दिनहरुमा मोवाइलको एप जस्तै सिस्टमको सफ्टवेर अपडेट भइरहेको छ । टेस्लाले मार्च २०१५ मै सान फ्रान्ससिक्कोदेखि सियटल बीचको हाइवेमा अटो पाइलटको सफल परिक्षण गरिसकेको थियो । टेस्लाको अटो पाइलटमा सफ्टवयरमा ७ पटक अपडेट आइसकेको छ ।

हुन्डाइले पनि आफ्नो हाइड्रोजन फिउसेल कार नेक्सोमा अटोनोमस प्रविधि दिएर कोरियाको हाइवेमा सफल परिक्षण गरिसकेको छ । यो रेसमा टेस्ला, हुन्डाई, फक्सवागन, मर्सिडिज बेञ्ज, बिएमडब्ल्यू, भल्भो, जनरल मोटर्स, निसान, टोयोटा, वेमो, गुगल जस्ता कम्पनीहरु निकै अघि बढीसकेका छन् । अबका केही वर्षमै हामीले बाटोमा व्यवसायीक रुपमा चल्ने ट्याक्सी तथा ट्रान्पोर्ट कम्पनीका सवारी साधनहरु चालक रहित देख्ने छौ ।
कसरी काम गर्छ अटोनोमस प्रविधि
यो आधुनिक कम्युटराइज प्रविधिमा आधारित नयाँ सिस्टम हो । यसमा आर्टिफिसीयल इटेलीजेन्ट तथा सुपर कम्प्युटरको प्रयोग गरिएको हुन्छ । अटोनोमस कार सहि तरिकाले चल्नका लागि बाटोमा पर्याप्त मात्रामा ट्राफिक तथा रोड साइनेजहरु आवश्यक पर्छ । अहिलेसम्म विकास भएका कारहरु चल्नका लागि कारमा चारैतर्फ क्यामरा, विभिन्न सेन्सर तथा अगाडि र पछाडि रडार र लाइडर जस्ता उपकरणहरु रहेको हुन्छ ।

चारैतर्फ रहेको क्यामरा तथा सेन्सरहरुले गाडीको स्थिति र कार वरपरको अन्य सवारी साधन तथा वस्तुहरुको जानकारी सिस्टमलाई निरन्तर पठाइरहेको हुन्छ । अगाडि रहेका विभिन्न क्यामरा तथा रडार र लाइडरले कारको सामुन्ने रहेका अन्य कार, वस्तु, ट्राफिक लाइट तथा पैदल यात्रुहरुको बारेमा रियल टाइम जानकारी सुपर कम्प्युटरमा पठाइ रहेको हुन्छ । सुपर कम्प्युटरमा रहेको एआई सिस्टमले रियल टाइमै सबै डाटाहरुलाई प्रोसेस गरेर कारलाई आवश्यक कमान्ड दिने गर्छ । यो सिस्टम निरन्तर जीपीएसमा जोडिइरहेको हुन्छ जसले अगाडिका बाटो, टर्निङ, ट्राफिक, दूरी आदिको बारेमा कम्प्युटरलाई अपडेट गराइरहेको हुन्छ ।
अटोमोवाइलमा रिभोलुसन
सेल्फ ड्राइभिङ कार वा भनौ अटोनोमस कारहरुलको प्रयोग हुन थालेपछि बाटोमा दुर्घटनाको संख्या उल्लेखनिय रुपमा घटाउन सकिने अनुसन्धानहरुले देखाएका छन् । कार आफै गन्तब्यमा पूग्ने भएकोले मानिसहरुको ठूलो समय वचत हुने छ अर्थात कार चलाउनमा लगाउनु पर्ने समय र परिश्रम अन्य काममा लगाउन पाउनेछ । यसले अझ दृष्टीबिहीन तथा अपाङ्गता भएका मानिसहरुको मोविलीटीमा ठूलो सघाउ पूर्याउने विश्वास लिन सकिन्छ ।


