साउनमा मोटरसाइकल आयातमा व्यापक गिरावट, आयो ८ हजार ४ सय यूनिट

काठमाडौं । मासिक औषत २४ हजार हाराहारीमा आयात हुने मोटरसाइकल चालु आर्थिक वर्षको पहिलो साउन महिनामा केबल ८ हजार ४३० यूनिट मात्रै आयात भएको छ ।

कोरोना संकटको कारण नयाँ वर्षमा बिक्री गर्न आयात भएका मोटरसाइकल ठूलो संख्यामा स्टकमा रहेको र कोरोना संक्रमण क्रमिकरुपमा बढ्दै गएकाले मोटरसाइकल आयातकर्ता कम्पनीले साउनमा कम संख्यामा मोटरसाइकल ल्याएको अनुमान गर्न सकिन्छ ।

साउनमा ५० सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको आयात ८ हजार २२५ यूनिट रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । त्यस्तै २५० सीसीभन्दा ठूलो क्षमताको मोटरसाइकल आयत अझै न्यून रहेको छ । साउन महिनामा २५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात २०५ यूनिट मात्रै रहेको छ ।

पहिलो चरणको लकडाउन खुलेसँगै मोटरसाइकलको बिक्रीमा सुधार भएको थियो । तर, पुनः बजार बन्द गर्ने प्रशासनको आदेशपछि सम्पूर्ण बजार ठप्प रहेको अवस्था छ ।

विशेषत अघिल्ला वर्षहरुमा साउन महिनामा सामान्यभन्दा धेरै मोटरसाइकल आयात हुने गरेको थियो । भदौबाट नाडा अटो शो र असोजमा दशैं तिहारजस्ता चाडपर्व पर्ने भएकाले कम्पनीहरुले मुख्य स्टक गर्ने महिनाको रुपमा साउनलाई लिने गरेका थिए । तर, यसपटक यही महिनामा मोटरसाइकल आयात अत्यन्त न्यून भएको छ ।


Back_to_top