काठमाडौं । विश्व अटोमोवाइल क्षेत्रमा अनिश्चितता जारी नै रहेको छ । कोभिड १९को कारण विश्वमा प्यासेन्जर कारको बिक्रीमा उतार चढाव आइरहेको छ । कुनै देशमा प्यासेन्जर कारको बिक्रीमा सुधार आउन सकेको छैन भने कुनै देशमा भि सेपमा कारको बिक्रीमा वृद्धि देखिएको छ ।
विश्वकै सबैभन्दा ठूलो कार बजार चीनमा भि सेपको वृद्धि देखिएको छ । जुन महिनाको तुलनामा चीनमा सन् २०२० जुलाई महिनाको बिक्रीमा १६ प्रतिशतको बिक्री वृद्धि भएको छ । जुलाईमा भएको यो बिक्री सन् २०१९ को जुलाईको तुलनमा ७ प्रतिशतले भन्दा बढी हो । जुलाईमा चीनमा २१ लाख प्यासेन्जर कारको बिक्री भएको छ ।
विद्युतीय र हाइड्रोजन फ्यूल सेल कारको बिक्रीमा भने २० प्रतिशतले गिरावट आएको छ । चीनमा टेस्लाले ११ हजार इलेक्ट्रीक कार बिक्री गरेको छ भने चिनीयाँ कम्पनी बिवाइडीले १४ हजार यूनिट कार बिक्री गरेको छ ।
अमेरिकी बजारमा सन् २०१९ को जुलाईको तुलनामा १९ प्रतिशतले बिक्री घटेको छ भने २०२० को जुनको तुलनामा ३० प्रतिशतले बिक्री घटेको छ । अमेरिकी बजारमा यसवर्ष समग्रमा २४ प्रतिशतले बिक्रीमा ह्रास आउने अनुमान गरिएको छ । यस्तोमा यस वर्ष १ करोड ३४ लाख यूनिट प्यासेन्जर कार बिक्री हुने अनुमान गरिएको छ । अमेरिका चीनपछिको सबैभन्दा ठूलो बजार हो ।
युरोपियन बजारमा जुलाईमा जुनको तुलनमा ५.७ प्रतिशतले ह्रास आएको छ । यद्यपी अहिलेसम्मको अवस्थामा सन् २०१९ को तुलनामा २०२० मा ३६ प्रतिशतले गिरावट आएको छ ।
यद्यपी बेलायतमा नयाँ कारको बिक्री लकडाउन खुलेपछि ११ प्रतिशतले वृद्धि भएको छ । जुलाईमा १ लाख ७५ हजार यूनिट नयाँ कार दर्ता भएको छ ।
भारतीय बजारमा सन् २०१९ को तुलनामा जुलाई महिनाको बिक्रीमा १ प्रतिशतले गिरावट आएको छ । जुलाईमा भारतमा १ लाख ९८ हजार यूनिट कार बिक्री भएको थियो ।
जापानमा भने जुनको तुलनामा जुलाईमा १४ प्रतिशतले बिक्री घटेको छ । अझ यही वर्षको जुनको तुलनामा भने ४५ प्रतिशतले घटेको हो । कोरियामा भने जुलाईको बिक्री ८ प्रतिशतले वृद्धि भएको छ ।
नयाँ लक्ष्य
कोभिडको कारण विश्व बजारमा नै ठूलो गिरावट आएसँगै गाडी बिक्रीको संशोधित लक्ष्य निर्धारण गरिएको छ । नयाँ लक्ष्य अनुसार चीनमा २ करोड १९ लाख, अमेरिकामा १ करोड ३४ लाख, यूरोपमा १ करोड ३६ लाख र बाँकी विश्वमा २ करोड ३० लाख यूनिट कार बिक्री हुने नयाँ प्रक्षेपण गरिएको छ । यो अघिल्लो वर्षको समग्र बिक्रीभन्दा २०.१ प्रतिशतले कमी हो ।

