काठमाडौं । बैंकबाट कर्जा लिएर कार किन्ने सोच बनाउने ग्राहकलाई सौलियत दिनभन्दै नेपाल राष्ट्र बैंकले एक वर्षभन्दा बढी अवधिको सवारी लगायत व्यक्तिगत कर्जामा स्थिर ब्याजदर लागू गर्न निर्देशन दिएपछि बैंकहरुले स्थीर व्याजदरको रेट प्रकाशन गरेका छन् ।
राष्ट्र बैंकका अनुसार स्थिर ब्याजदर व्यक्तिको नाममा प्रवाह भएका सवारी कर्जा, घर कर्जा, हायरपर्चेज, शैक्षिक लगायतका एक वर्ष माथि समयमा भुक्तानी गर्नु पर्ने कर्जामा परिवर्तन नहुने व्याजदर तोक्न निर्देशन दिएको थियो ।
नयाँ व्यवस्था अनुसार अब बैंकहरुले सवारी कर्जाको भुक्तानी अवधिभर एउटै ब्याजदर कायम हुनेछ अर्थात् बीचमा ब्याजदर परिवर्तन हुने छैन ।
बैंकहरुले छोटो समयमै बेसरेट परिवर्तन गरिरहँदा ऋणीहरुमर्काम पर्ने भन्दै यस्तो व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ । तरता अभाव भन्दै बैंकहरुले ६/६ महिनामै कर्जाको ब्यादर परिवर्तन गर्ने गरेका थिए । जसले ऋणीलाई थप भार पर्ने गरेको थियो ।
राष्ट्र बैंकले भदौ अन्तिम साता एकीकृत निर्देशिका २०७७ जारी गर्दै असोज मसान्तसम्म यस्तो कर्जाको ब्याजदर तोक्न निर्देशन दिएको थियो ।
स्थिर ब्याजदर अस्थिर ब्याजदरभन्दा केही महँगो भने रहेको छ । अहिले अधिकांश बैंकले एकल अंकको ब्याजदरमा ऋण दिइरहेका छन् भने स्थिर ब्याजदर कर्जा अवधि अनुसार १५ प्रतिशतसम्म तोकेका छन् ।
बैंकहरुले सवारी कर्जामा न्यूनतम ८.४९ देखि १४.५१ प्रतिशतसम्म व्याजदर तोकेका छन् । बैंकहरुले अहिले १ वर्षदेखि १५ वर्षसम्मको अवधिको स्थिर ब्याजदर ताकेका छन् ।
यस्तो छ सबै बैंकको स्थिर ब्याजदर
राष्ट्रिय वाणिज्य बैंकले ७ वर्षसम्मको सवारी कर्जामा ९.५ प्रतिशत व्याजदर तोकेको छ । त्यस्तै नेपाल बैंकले १०.८५ देखि १३.९३ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
कृषि विकास बैंकले सवारी कर्जा १०.५ प्रतिशत तोक्दा, स्ट्यान्डर्ड चार्टडर्ड बैंकले ५ वर्षसम्मको सवारी कर्जामा १०.७५ प्रतिशत र ७ वर्षसम्मको कर्जामा ११.७५ प्रतिशत तोकेको छ ।
नेपाल एसबीआई बैंकले १४ प्रतिशत व्याजदर तोकेको छ । एनएमबी बैंकले ३ वर्षभन्दा माथिको सवारी कर्जा ९.५० प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।
नेपाल बंगलादेश बैंकले ५ वर्षभन्दा माथिको सवारी कर्जाको १०.९९ प्रतिशत व्याजदर तोकेको छ । नबिल बैंकले ५ देखि १० वर्षसम्मको गाडी कर्जाका लागि १०.५० प्रतिशत व्याजदर तोकेको छ ।
माछापुच्छ्रे बैंकले ५ वर्षसम्मको सवारी कर्जाको ९.९९ प्रतिशत र त्यसभन्दा माथिको ११.८९ प्रतिशत तोकेको छ । ग्लोबल आइएमई बैंकले ५ वर्षमाथिको गाडी कर्जाको ब्याज ११.९९ प्रतिशत तोकेको छ । सनराइज बैंकले ८ वर्षसम्मको सवारी कर्जाको व्याजदर ११.५० प्रतिशत तोकेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ७ वर्ष अवधिको सवारी कर्जाको १०.७५ प्रतिशतमा उपलब्ध गराउने छ । बैंक अफ काठमाण्डूले ८ वर्षसम्मको सवारी कर्जा ११.५ प्रतिशत ब्याजदरमा प्रबाह गर्ने छ ।
सिद्धार्थ बैंकले ५ वर्षमाथिको सवारी कर्जा १०.९९ प्रतिशतमा दिने जनाएको छ । सेञ्चुरी बैंकले ७ वर्षसम्मको सवारी कर्जा १२.२४ प्रतिशत व्याजदरमा उपलब्ध गराउने छ ।
त्यसैगरि सानिमा बैंकले ३ वर्षमाथिको सवारी कर्जामा १३ प्रतिशत दर तोकेको छ ।

