पोलो, अल्ट्रोज, बलेनो र आई २० मा तिब्र प्रतिस्पर्धा, कुनमा कस्ता फिचर

काठमाडौं । प्रिमियम ह्याचव्याक सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका फक्सवागन पोलो, मारुती सुजुकी बलेनो, टाटा अल्ट्रोज र हुन्डाई आई २० इलाइटको बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यसअघि यो सेग्मेन्टमा फक्सवागन पोलो निकै पछि परेको थियो । तर, कम्पनीले टिएसआई इन्जिनसहित नयाँ पोलो नेपालमा बिक्री सुरुगरेसँग यो प्रतिस्पर्धामा सामेल भएको हो ।

टाटा अल्ट्रोज पनि नेपाली बजारमा आएको नयाँ कार हो । यस्तोमा यो सेग्मेन्टमा हुन्डाई आई २० इलाइट र मारुती सुजुकी बलेनो मात्रै प्रतिस्पर्धामा थिए । यी दुईलाई टक्कर दिन आएका अल्ट्रोज र पोलोले कस्तो व्यापार गर्छन् भन्ने थाहापाउन भने केहि समय कुर्नु पर्ने हुन्छ ।

यदि तपाईले प्रिमियम ह्याचव्याक किन्ने सोच बनाउनु भएको छ भने हामी यी ४ गाडीमा रहेको फिचर, पावर, मूल्य लगायतका विषयमा जानकारी दिदैछौं ।

नेपालमा उपस्थिति

डिजाइनको कुरा गर्दा यी ४ वटै कार निकै आकर्षक डिजाइनमा तयार भएका छन् । टाटा अल्ट्रोज यी ४ मध्य सबैभन्दा नयाँ कार हो । यसको डिजाइन निकै स्पोर्टी देखिन्छ ।

पालो फक्सवागनले १० वर्षअघि भारतमा र ८ वर्षअघि नेपाल आएको मोडल हो नयाँ इन्जिन दिएपनि यसको डिजाइनमा नयाँपन भने छैन ।

इलाइट आई २० र बलेनो पनि नेपाली ग्राहकको लागि परिचित नाम हो । आफ्नो डिजाइनका कारण तीन मोडलले नेपालमा सफलता चाखिसकेका छन् भने अल्ट्रोज यी सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आएको छ ।

इन्जिन र पर्फमेन्स

मारुती सुजुकी बलेनोमा १.२ लिटर के१२बी फोर सिलिन्डर इन्जिन दिइएको छ । निकै राम्रो पफमेन्सका कारण यसले एक पटक नेपालीको मन जित्न सफल भइसकेको छ । यसमा रहेको इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर र ४००० आरपीएममा ११५ एनएम टर्क प्रदान गर्ने छ ।

हुन्डाईले आफ्नो प्रिमियम ह्याचव्याकमा १.२ लिटर, फोर सिलिण्डर इन्जिन दिएको छ । यसमा रहेको इन्जिनले अधिकतम ६००० आरपीएममा ८२ पीएस पावर र ४००० आरपीएममा ११७ एनएम टर्क प्रदान गर्ने छ ।

पोलोको कुरा गर्नु पर्दा यो सेग्मेन्टमा नै पहिलो टर्बो इन्जिनको साथ आएको छ । यसमा रहेको टिएसआई १.० लिटर इन्जिनले अधिकतम ११० पीएस पावर र १७५ एनएम टर्क प्रदान गर्छ । थ्रि सिलिण्ड इन्जिन भएकाले यसमा बलेनो र आई २० को तुलनामा केहि बढी आवाज भने आउने छ । यसमा रहेको टर्बो इन्जिन २००० आरपीएमपछि एक्टीभेट हुन्छ, त्यसपछि गाडीको टर्क निकै उत्कृष्ट रहने छ ।

अल्ट्रोजमा पनि १.२ लिटर थ्रि सिलिण्डर इन्जिन रहेको छ । यसमा पनि अन्य दुईको तुलनामा बढी आवाज भने आउने छ । यद्यपी कारको पावर र पर्फमेन्स भने उत्कृष्ट रहेको छ ।

यसमा रहेको इन्जिनले अधिकतम ६००० आरपीएममा ८६ पीएस पावर र ३३०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्ने छ ।

सुरक्षा फिचर

सुरक्षाको हिसावले टाटा अल्ट्रोज ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल मोडल हो ।

त्यसैगरि फक्सवागन पोलो ग्लोवल एनक्याप क्र्यास टेष्टमा ४ स्टार रेटिङ कार हो । हुन्डाई आई २० र मारुती सुजुकी बलेनोको ग्लोबल एनक्याप रेटिङ अहिलेसम्म बाहिर आएको छैन ।

यी सबै कारमा सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, सिट बेल्ट, आइएसओ फिक्स चाइल्ड सिट जस्ता फिचर उपलब्ध रहेका छन् ।

भेरियन्ट र मूल्य

हुन्डाईले आई २० इलाइटको दुई भेरियन्ट नेपालमा बिक्री हुँदै आएको छ । आई २० इलाइट मग्ना प्लस भेरियन्टको मूल्य ३३ लाख ५६ हजार र स्पोटज् प्लस भेरियन्टको ३७ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेर बिक्री वितरण भइरहेको छ ।

मारुती सुजुकी बलेनो नेपालमा ३ भेरियन्टमा बिक्री हुँदै आएको छ । बलेनो डेल्टा भेरियन्टको मूल्य ३३ लाख ९९ हजार, जेटा भेरियन्टको ३६ लाख ९९ हजार र बलेनो अल्फा भेरियन्टको मूल्य ४० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

टाटा अल्ट्रोज ४ भेरियन्टमा बजारमा किन्न सकिन्छ । अल्ट्रोजको एक्सई भेरियन्टको मूल्य २९ लाख ९९ हजार, एक्सएम भेरियन्टको ३२ लाख ५५ हजार, एक्सटी भेरियन्टको ३३ लाख ५५ हजार र एक्सजेड भेरियन्टको ३८ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

फक्सवागन पोलो ४ भेरियन्टमा बिक्री हुँदै आएको छ । पोलो कम्फर्टलाइन भेरियन्टको मूल्य ३९ लाख ९० हजार, हाइलाइन प्लस भेरियन्टको ४० लाख ४० हजार, हाइलाइन प्लस अटोमेटिकको ४५ लाख ४० हजार र जिटी हाइलाइन प्लसको ४७ लाख ४० हजार रुपैयाँ रहेको छ ।


Back_to_top