काठमाडौं । क्रुजर मोटरसाइकलमा प्रायः जसो सिट हाइट कम भएका हुन्छन् । यी मोटरसाइकलहरु कम उचाई भएका मानिसहरुका लागिसमेत उपयुक्त हुन्छ । कतिपय मानिस आफ्नो हाइटका कारण पनि स्पोर्टस् नेकेड मोटरसाइकल चलाउन सक्दैनन् । यस्तो बजारमा उपलब्ध क्रुजर मोटरसाइकल यस्ता मानिसको रोजाइमा पर्न सक्छन् ।
पछिल्लो समय नेपालमा धेरै ब्रान्डले क्रुजर मोटरसाइकल विक्री गर्दै आएका छन् । यद्यपी सबै क्रुजर मोटरसाइकलको सिट हाइट भने कम नै हुन्छ भन्ने हुँदैन । यस्तोमा हामीले नेपाली बजारमा उपलब्ध कम सिट हाइट कम भएका मोटरसाइकलको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।
१. बजाज एभेन्जर
नेपालमा उपलब्ध कम सिट हाइट भएको मोटरसाइकलमा बजाजसँग दुई मोडल रहेका छन् । बजाज एभेन्जर क्रुजर सेग्मेन्टको मोटरसाइकल रहेको हो । हंशराज हुलासचन्द एण्ड कम्पनीले विक्री गर्दै आएको क्रुजर २२० र १६० स्ट्रीट दुबै सिट हाइट कम भएका मोटरसाइकल हुन् । बजाज एभेन्जर २२० मा ७२५ एमएमको सिट हाइट रहेको छ भने, स्ट्रीट १६० को सिट हाइट ७३७ एमएम रहेको छ ।
कम्पनीले बजाज एभेन्जर २२० को ३ लाख ४८ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री गर्दै आएको छ भने १६० स्ट्रीटको मूल्य ३ लाख २१ हजार ९०० रुपैयाँ रहेको छ । दुबै मोटरसाइकलमा एबीएस फिचर उपलब्ध रहेको छ ।
२. सुजुकी इन्ट्रुडर
भीजी सुजुकीले नेपालमा विक्री गर्ने इन्ट्रुडर १५० कम सिट हाइट कम भएको अर्को मोटरसाइकल हो । सुजुकी इन्ट्रुडर १५० क्रुजर सेग्मेन्टको मोरसाइकल हो । यसको सिट हाइट ७४० एमएम रहेको छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । यसमा पनि सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
३. हान्वे भि–बब २५०
हान्वे मोटरसाइकलको लागि आधिकारिक वितरक मोटर एभेन्यू प्रालिले भि–बब २५० मोटरसाइकलको विक्री गरिरहेको छ । यो क्रुजर मोटरसाइकलको सिट हाइट ७१५ एमएम मात्रै रहेको छ । यसको मूल्य ७ लाख रुपैयाँ निर्धारण गरिएको छ । निकै बोल्ड डिजाइनमा तयार भएको यो मोटरसाइकल भर्खरै मात्र नेपाल आएको हो ।
४. हार्ले ७५०
आइएमई ग्रुप अन्तर्गत आइएमई अटोमोटिभ्सले नाडा अटो शो २०१८ बाट हार्लेको विक्री वितरण सुरु गरेको थियो । हार्लेले ७५० सीसी सेग्मेन्टमा दुई क्रुजर मोटरसाइकल विक्री गरिरहेको छ । हार्ले ७५० को सिट हाइट ६४० एमएम रहेको छ । यो सबैभन्दा कम सिट हाइट भएको क्रुजर मोटरसाइकल हो । यसको मूल्य २३ लाखदेखि २७ लाखसम्म रहेको छ ।


