काठमाडौं । यातायात व्यवस्था विभागले बागमती प्रदेश अन्तर्गत रहेका सम्पूर्ण सरकारी कार्यालयको सवारी साधनमा फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भएको छ ।
यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेलका अनुसार फागुन मसान्तसम्ममा बागमती प्रदेशमा रहेका सम्पूर्ण सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न लागिएको हो ।
‘पहिलो चरणमा सरकारले किनेका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दैछौं । फागुन मसान्तसम्ममा बागमती प्रदेशमा रहेका सबै सरकारी कार्यालयका साधनमा इम्बोस्ड जडान कार्य पुरा हुनेछ’, पौडेलले मेरोअटोसँग भने ।
सरकारले ५ वर्ष भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य लिएर बिक्रम सम्बत २०७३ मा बंगलादेश र अमेरिकन संयुक्त कम्पनी डेकाटुर टाइगरसँग सम्झौँता गरेको थियो ।
सुरुवाती समयमा करिब ५ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेसँगै अंग्रेजी भाषामा नम्बर प्लेट तयार गरेको भन्दै अदालतमा मुद्दा परेको थियो । मुद्दा परेसँगै इम्बोस्ड नम्बर प्लेट जडान रोकिएको थियो ।
इम्बोस्ड नम्बर जडानका लागि डेकाटुर टाइगरसँग ४ अर्ब ३७ करोड रुपैयाँमा सम्झाँैता भएको थियो । लामो अदालती प्रक्रियापछि इम्बोस्ड नम्बर प्लेट जडानको बाटो खुल्ला भएपछि विभागले जडानको काम अगाडि बढाउन लागेको हो ।
निजी र सार्वजनिक यातायातमा पनि जडान हुने
सरकारी सवारी साधनमा जडानको काम सकिएपछि चैतबाट निजी तथा सार्वजनिक यातायतमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको काम अगाडी बढ्ने प्राविधिक निर्देशक पौडेलले जानकारी दिए ।
सरकारी गाडीमा जडान सकेसँगै चैतदेखि मोटरसाइकल, स्कुटर, जिप, कार, भ्यान जस्ता निजी प्रयोजनमा प्रयोग हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्ने योजना विभागले बनाएको छ ।
ठूला चारपांग्रे सवारी साधन लागि तीन हजार ६ सय रुपैयाँ, मझौला चारपांग्रे सवारीका लागि तीन हजार दुई सय रुपैयाँ, ट्याम्पो, रिक्सा लगायत तीनपांग्रे सवारी साधनका लागि दुई हजार ९ सय रुपैयाँ र मोटरसाइकल लगायतका लागि दुई हजार पाँच सय रुपैयाँ दस्तुर तोकिएको छ । यसरी लगाइएको इम्बोस्ड नम्बर प्लेटको आयु १० वर्षको हुने व्यवस्था गरिएको छ ।
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि सवारी साधन चोरी हुने, कर छली र अपराधका काममा प्रयोग हुने घटना रोकिने विभागको भनाई छ । इम्बोस्ड प्लेटमा विशेष प्रकारको चिप्सको प्रयोग गरिएकाले स्क्यानिङ गरेर कर तिरे नतिरेको समेत थाहा हुनेछ ।

