काठमाडौं । दिगो ग्रुपले नेपालमा विक्री गर्दै आएको इलेक्ट्रीक कार इ८ को पहिलो लट सोल्ड आउट भएको छ । कम्पनीका अनुसार पहिलो लटमा आएको सम्पूर्ण कार सोल्ड आउट भएको हो ।
दिगो ग्रुपले आफ्नो इलेक्ट्रीक कार इ८ को ब्राण्ड एम्बेस्डर मदनकृष्ण श्रेष्ठलाई नियुक्त गरेर विद्युतीय कारको आवश्यकता र कम संचालन खर्चको विषयमा ग्राहकलाई जागरुक गराउन थालेसँगै गाडीको माग उच्च भएको कम्पनी स्रोतको भनाई छ ।
सामान्य कम्बस्चन इन्जिनयुक्त कारको मूल्य नै २५ लाख पर्न थालेको समयमा इलेक्ट्रीक कार नै २४ लाख ९४ हजारमा पाउने भएकाले पनि सहरी वासिन्दाको रोजाईमा इलेक्ट्रीक कार पर्न थालेको कम्पनीका सीइओ हेमन्त पुरेनिकको भनाई छ ।
इ८ मा सामान्यतया गाडीलाई चाहिने सबै किसिमका फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इ८मा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्पोर्ट र इको ड्राइभ मोड, पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन दिइएको छ । साथै, रियर क्यामेरा, पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभीएम जस्ता फिचर उपलब्ध रहेको छ ।
इ८ मा रहेको १५.२ किलोवाट आवर लिथियम आयोन फस्फेट ब्याट्रीले फुल चार्जमा सामान्य मौसममा १५० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा प्रयोग भएको मोटरले २० बीएच पावर र १८० एनएम टर्क प्रदान गर्छ । घरायसी बत्तीमा सजिलै चार्ज गर्न सकिने कारमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टम समेत दिइएको छ ।
साथै, दिगो ग्रुपले विक्री गर्दै आएको डाँफे माइक्रोबस पनि सबै विक्री भएको कम्पनीले जानकारी दिएको छ । डाँफे ११ सिट क्षमताको माइक्रोबस हो । यसको मूल्य ४४ लाख रुपैयाँ निर्धारण गरेर कम्पनीले विक्री गर्दै आएको छ ।

