काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने सवारी साधन भनेकै दुई पाङ्ग्रे स्कुटर तथा मोटरसाइकल हो । विशेषत भारतमा उत्पादन हुने मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा विक्री हुँदै आएको छ ।
बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो, सुजुकी, रोयल इन्फिल्ड, जावा, केटीएम जस्ता कम्पनीले उत्पादन गरेका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा विक्री वितरण हुँदै आएका छन् । यस्तोमा यी मुख्य कम्पनीले बजारमा ल्याउने तयारी गरिरहेको मोडलमा धेरैको चासो हुने गरेको छ ।

बजाज नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल हो । पल्सर सिरिजको सफलता सबैको अगाडि छर्लङ रहेको छ । यस्तोमा बजाजले नयाँ पल्सर २५० बजारमा उतार्ने तयारी गरिरहेको छ । संभवत आगामी दिपावलीको समयमा यो मोटरसाइकल बजारमा आउने छ । नयाँ पल्सर २५० बजाजको सबैभन्दा महंगो पल्सर सिरिज हुने अनुमान गरिएको छ ।
यामाहाले एफजेड सिरिजमा नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने छ । ‘एफजेड एक्स’ नामबाट आउने नयाँ मोटरसाइकल २५० सीसी क्षमताको हुने अनुमान गरिएको छ । यसलाई पनि कम्पनीले यहि वर्ष सन् २०२१ मा नै बजारमा ल्याउने छ ।

टीभीएसले क्रुजर मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ । कम्पनीले आरआर ३१० मा आधारित रहेर नयाँ क्रुजर मोटरसाइकल बजारमा ल्याउने छ । योसँगै टीभीएसको लाइनअपमा क्रुजर मोडल थप हुने छ ।

होन्डाले भारतमा एकपछि अर्को नयाँ मोडल ल्याइरहेको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा ग्रोम र मङ्की जस्ता मोडल भारतमा उत्पादन गर्ने तयारीका साथ यी मोडलको प्याटेन्ड दर्ता गरेको छ । साथै कम्पनीले एड्भेन्चर सिरिजमा नयाँ मोटरसाइकल यहि वर्ष सार्वजनिक गर्ने छ ।

हिरो मोटोकर्पले ३०० सीसी क्षमताको एड्भेन्चर मोटरसाइकल बजारमा ल्याउने छ । कम्पनीले बजारमा ल्याउने नयाँ मोटरसाइकल एक्सपल्स २०० बाट प्रेरित हुने छ । सन् २०२० मा नै कम्पनीले घोषणा गरेको यो नयाँ मोडल संम्भवत २०२१ को अन्त्यतिरबाट बजारमा आउने छ ।
सुजुकीले पनि इन्टुडर २५० बजारमा ल्याउने छ । कम्पनीले इन्टुडर १५० कै डिजाइनमा ल्याउने यो मोटरसाइकल क्रुजर सेग्मेन्टमा आउने छ ।


