काठमाडौं । टेस्लाको मोडल थ्री कार नेपाल आएको छ । आयातकर्ता कम्पनी अरेटी इन्टरनेशनलले १४७ किलोवाट क्षमताको मोटर जडान भएको कागजपत्र पेशगरी भन्सार छुटाएको टेस्ला मोडल थ्रीमा आयातकर्ताले सानो ‘ट्वीस्ट’गर्दा ठूलो परिमाणमा राजस्व छली भएको हो ।
कम्पनीले यातायात व्यवस्था कार्यालयमा पेश गरेको कागजपत्रमा टेस्ला मोडल थ्रीमा रेटेड पावर १४७ किलोवाट उल्लेख छ । जबकी यो गाडीको पीक पावर २११ किलोवाट हो । सरकारले चालू आर्थिक वर्षको बजेटबाट विद्युतीय सवारी साधनमा मोटर क्षमताको आधारमा कर निर्धारण गरेसँगै विभिन्न कम्पनीले भन्सार छुटाएका कारहरूमा पीक पावरलाई आधार मानेर छुटाउने गरेको देखिन्छ । तर, टेस्लाको मोडल थ्री भने रेटेड पावरको आधारमा छुटेको हो ।
सरकारले चालू आर्थिक वर्षको आर्थिक ऐनमा प्रस्टरूपमा पीक पावरको आधारमा कर लाग्ने व्यवस्था गरेको छ । आर्थिक ऐन अनुसार टेस्ला आयातकर्ता कम्पनीले राज्यलाई छल्ने प्रयास गरेको देखिन्छ ।
टेस्ला मोडल थ्रीमा पीक पावर २११ किलोवाट क्षमताको मोटर छ भने यसको रेटेड पावर १४७ किलोवाट हो । कम्पनीले यातायात व्यावस्था विभाग र भन्सार विभागमा यसमा जडान भएको मोटरको रेटेड पावर मात्रै खुलाएको छ । जबकी अन्तःशुल्क मोटरमा भएको पीक पावरको आधारमा तय गरिएको छ ।

कम्पनीले वैशाख ७ गते मंगलबार भन्सार छुटाएको टेस्ला मोडल थ्रीमा १४७ किलोवाट क्षमताको मोटर भन्दै अन्तःशुल्क ९ लाख २ हजार ९८८ रुपैयाँ तिरेको छ । जबकी यसमा २११ किलोवाट क्षमताको मोटर रहेको छ । उक्त क्षमताको मोटरमा ५२.५ प्रतिशत अन्तःशुल्क लाग्छ । त्यसबापत आउने रकम ३१ लाख ६० हजार ४५४ रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसबाट कम्पनीले अन्तःशुल्कमा मात्रै २२ लाख ५७ हजार ४५४ रुपैयाँ कम तिरेको छ ।
अन्तःशुल्क बढेसँगै भ्याट र सडक निर्माण दस्तुर पनि बढ्ने छ । यसरी हेर्दा समग्रमा एउटा टेस्ला कारमा २८ लाख ९३ हजार रुपैयाँ कर गुमेको देखिन्छ ।
के हो पीक पावर र रेटेड पावर
मोटरको ‘पीक पावर’ भन्नाले उक्त मोटरले उत्पादन गर्न सक्ने उच्चतम शक्ति भनेर बुझिन्छ । मोटरको ‘ओभरहिटिङ’ नभइकन मोटरले केही सेकेन्डको लागि मात्र पीक पावर उत्पादन गर्न सक्छ ।
मोटरको ‘रेटेड पावर’ भनेको उक्त मोटरले उत्पादन गर्ने औसत शक्ति हो । बिजुलीको आपूर्ति गरिरहने हो भने मोटरले यो मापनको शक्ति निरन्तर प्रवाह गरिरहन सक्छ । यसका लागि ‘एयर कुलर’ पनि बिना अवरोध चलिरहनु पर्छ ।
अन्तःशुल्कमा कति फरक ?
पीक पावर १४७ किलोवाट क्षमताको मोटर भएको गाडीमा नयाँ व्यवस्था अनुसार १५ प्रतिशत मात्रै अन्तःशुल्क लाग्छ । तर, टेस्ला मोडल थ्रीमा रहेको मोटरको पीक पावर २११ किलोवाट हो । अहिलेको व्यवस्था अनुसार यसमा ५२.५ प्रतिशत अन्तःशुल्क तिर्नु पर्ने हुन्छ । तर, कम्पनीले १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेर ३७.५ प्रतिशत शुल्क तिर्नबाट बच्न रेटेड पावरलाई जोड दिएको छ ।
भन्सार विभागको कमजोरी
आयातकर्ता कम्पनीले पेश गरेको हरेक कागजपत्रमा रेटेड पावर उल्लेख गरेको छ । तर, भन्सार विभागले रेटेड पावर र पीक पावरको विषयमा ध्यान नदिदा यो मुद्दा पेचिलो बनेको हो ।
सरकारले पीक पावरको आधारमा कर लाग्ने व्यवस्था गरेको भए पनि भन्सार विभागले रेटेड पावरमा अन्तःशुल्क निर्धारण गर्दा अहिलेको समस्या देखिएको हो ।


