यी ३ कारण विश्व बजारमा सर्वाधिक सफल कार नेपालमा बन्द

काठमाडौं । विश्वमा नै सर्वाधिक धेरै विक्री भएको सेडान कार टोयोटा कोरोला पछिल्ला ५ वर्षदेखि नेपालमा विक्री बन्द भएको छ । कुनै समय नेपालको सडकमा ट्याक्सीको रुपमा पनि टोयोटा कोरोला चल्ने गरेको थियो ।

कार भनेकै टोयोटा कोरोला जस्तो लाग्ने यो मोडल नेपालमा पूर्णरुपमा बन्द हुनुको पछाडि कम्पनीको नीति, बजारमा आएको नयाँ ट्रेन्ड र महंगो मूल्य मुख्य कारक रहेका छन् ।

टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेर्डस् सिन्डिकेट प्रालिले सन् १९६६ देखि नेपाल ल्याएको कोरोला भारतीय उत्पादन इटियोस नेपाल आएसँग बन्द हुने अवस्थामा पुगेको थियो । टोयोटाले भारतमा उत्पादन गरेको इटियोस सेडान, ह्याचव्याक र क्रसओभर मोडल थिए । यी तीनै किसिमका गाडी नेपाली बजारमा आएको थियो । इटियोस फ्यामली भित्र रहेका सबै गाडीको विक्री पनि नेपालमा बन्द भइसकेको छ ।

यस्तोमा कोरोला कारको नेपालमा विक्री बन्द हुनुका मुख्य तीन कारण यस प्रकार रहेका छन् ।

१. धेरै मूल्यः

टोयोटाले सन् २०१४ सम्म यो गाडी राम्रै संख्यामा विक्री गर्दै आएको थियो । त्यतिवेला कोरोलाको मूल्य ६६ लाख रुपैयाँ रहेको थियो । तर, त्यसपछि क्रमिकरुपमा यसको मूल्य बढ्दै गएर ७५ लाखसम्म पुग्यो र कम्पनीले यसको विक्री नेपालमा बन्द गर्यो ।

७५ लाख तिर्ने ग्राहकसँग बजारमा थुप्रै लग्जरी कारको विकल्प उपलब्ध भएसँगै कम्पनीले यसको आयात पूर्णरुपमा बन्द गरेको थियो ।

२. सस्तो भारतीय उत्पादनः

नेपालमा कोरोला कारको विक्री बन्द हुनुमा भारतीय उत्पादन इटियोसको निकै ठूलो भूमिका रह्यो । थाइल्याण्डमा उत्पादन भएको कोरोला करिब ७० लाख मूल्य हुँदा भारतमा उत्पादन भएको सेडान इटियोसको मूल्य ३५ लाख रुपैयाँ भएसँगै कोरोलाको आयात बन्द भएको हो ।

३. एसयूभीको उच्च मागः

सन् २०१३ मा आएको फोर्डको इकोस्पोर्टसँगै धेरै गाडी किन्ने मानिसको रोजाइमा साना एसयूभी पर्न थाले । त्यसपछि थुप्रै कम्पनीले एसयूभी उत्पादनमा जोड दिए । हुन्डाई क्रेटा, महिन्द्रा एक्सयूभी ५००, मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन जस्ता उत्पादन बजारमा आए ।

एसयूभी सेग्मेन्टको बढ्दो लोकप्रियतासँगै कम्पनीहरुको प्राथमिकतामा सेडान पर्न छाड्यो । अहिले पनि टोयोटाले लग्जरी सेग्मेन्टमा मात्रै सेडान कार उत्पादन गरिरहेको छ । यसले कोरोला चाहने ग्राहक भेट्नै मुस्किल भयो । जसको कारण यसको आयात बन्द भएको हो ।

कोरोला क्रस भने नेपालमा

कोलोरो क्रसलाई टोयोटाले विश्वका सिमित देशमा मात्रै उपलब्ध गराउँदै आएको छ । यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले पनि अन्तर्राष्ट्रिय बजारमा आएको केहि महिनामा नै कोरोला क्रस नेपाली बजारमा उपलब्ध गराएको छ ।

अहिले नेपाली बजारमा कोरोला क्रसको दुई भेरियन्ट खरिद गर्न सकिन्छ । सुरुवाती भेरियन्टको मूल्य १ करोड १२ लाख रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य १ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

कोरोला नाम रुचाइएको बजारमा ह्याचव्याक डिजाइनमा पनि अहिले विक्री वितरण हुँदै आएको छ । तर, कोरोला ह्याचव्याक भने महंगो मूल्यको कारण कम्पनीले नेपाल ल्याएको छैन ।


Back_to_top