काठमाडौं । अहिले मोटरसाइकल बजार निकै प्रतिस्पर्धी भएको छ । विशेषत नेकेड, स्पोर्टस्, रेट्रो र क्लासिक क्रुजर डिजाइनमा आउने मोटरसाइकलमा युवाहरुको धेरै चासो रहने गरेको छ ।
नेपालमा पनि नेकेड डिजाइनको मोटरसाइकल धेरैले मनपराउने गरेका छन् । क्लासिक क्रुजर पनि आरामदायी यात्रा गर्न चाहने रोजाइमा पर्ने गरेको छ । स्पोर्टस् डिजाइनको मोटरसाइकल मूल्यको हिसावले महंगो हुने भएकोले पनि धेरै ग्राहकले मनपराएर पनि खरिद गर्न सकेका हुँदैनन् ।

यी सबै कुरालाई ध्यानमा राखेर कम्पनीका उत्पादन आयातकर्ता कम्पनीले ल्याउने गरेका छन् । निषेधाज्ञापछि होन्डा र रोयल इन्फिल्डले क्लासिक क्रुजर डिजाइनमा मोटरसाइकल ल्याउने भएका छन् । रोयल इन्फिल्ड मेटोर ३५० र होन्डा हाइनेस सिबी ३५० क्रुजर डिजाइनमा नेपाल आउने छन् ।

त्यसैगरि होन्डाले नेकेड स्ट्रीट फाइटर डिजाइनमा हर्नेट २.० पनि नेपाल ल्याउने छ । स्कुटर निर्माणमा चर्चित कम्पनी अप्रिलियाले पनि १२५ सीसी क्षमताको नयाँ एसएक्सआर बजारमा ल्याउने तयारी गरेको बुझिएको छ ।

चिनियाँ इलेक्ट्रीक कम्पनी याडियाले पनि आफ्नो इलेक्ट्रीक स्कुटरको विक्री सुरु गर्ने भएको छ । कम्पनीले दुई मोडलमा इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने छ ।




