काठमाडौं । मृत अवस्थामा पुगेको विद्युतीय कारको बजार एकाएक जुर्मुराएको छ । आर्थिक वर्ष २०७६/७७ मा करिब ९०० यूनिट विद्युतीय कार विक्री भएको तथ्यांक अगाडि आएसँगै तात्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत विद्युतीय कारको भन्सार, अन्तःशुल्क र सडक निर्माण दस्तुर बढाएका थिए ।
एक वर्षपछि अन्तःशुल्क खारेजी र भन्सार दर परिवर्तन भएसँगै विद्युतीय गाडीको चर्चा बढ्दै गएको छ । निषेधाज्ञाको कारण बजार बन्द अवस्थामा रहेपनि विभिन्न कम्पनीहरु इलेक्ट्रीक गाडीको मूल्य सार्वजनिक गर्दै अनलाइन मार्फत वुकिङ लिइरहेका छन् ।
नेपाली बजारमा विक्री हुने विद्युतीय कार मध्य दुई कम्पनी डेरी र दिगोका उत्पादन सबैभन्दा कम मूल्यमा खरिद गर्न सकिन्छ । डेरीका उत्पादन अटोहोस्टले विक्री गर्दै आएको छ भने दिगो नेपाली ब्राण्ड हो । तर, कम्पनीले दिगो ब्राण्डमा आउने इ८ कार चीनमा उत्पादन गरेर ल्याइरहेको छ ।
दुबै चिनियाँ बजारमा उत्पादन भएका कार ह्याचव्याक हुन् । यस्तोमा यी दुई कारमा उपलब्ध भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।
व्याट्री र मोटर क्षमता
दिगो इ८ मा १५.२ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ भने डेरीको इभी७ मा १७ किलोवाट आवर क्षमताको लिथियम एनसीएम व्याट्री दिइएको छ । दुबै कारमा समान १५ किलोवाट क्षमताको मोटर जडान भएको छ । धरायसी विजुलीबाट इ८ लाई ५ घन्टामा फुलचार्ज गर्न सकिन्छ भने इएम७ लाई ५ घन्टा ३० मिनेट लाग्ने कम्पनीको दाबी छ ।

विद्युतीय गाडीको अर्को महत्वपूर्ण पक्ष भनेको रेञ्ज हो । कम्पनीहरुको दावी अनुसार दिगो इ८ ले फुल चार्जमा १५० र इएम७ ले २३० किलोमिटर रेञ्ज दिने दावी गरेका छन् । दुबै कम्पनीको दावी नेपालमा प्रमाणित गर्ने निकायले भने प्रमाणित गरेको होइन । यी दुबै कारको उच्चगति क्षमता ७० किलोमिटर प्रतिघन्टा रहेको छ ।
डायमेन्सन

लम्बाइमा दिगो इ८ लामो छ । यसको लम्बाई ३६१० एमएम छ भने इभी ७ को लम्बाई ३४८० एमएम रहेको छ । दुबै कारमा समान १५७० एमएम चौडाई रहेको छ । उचाईमा ८० एमएम र ग्राउन्ड क्लियरेन्समा १० एमएम डेरीको इभी७ अगाडि रहेको छ । दिगो इ८ मा १६० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । बुट स्पेश भने इ८ मा केही ठूलो छ ।
अन्य फिचर
गाडीमा उपलब्ध फिचरमा पनि धेरै समानता पाउन सकिन्छ । रिभर्स पार्किङ, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, इलेक्ट्रीक पावर स्टेरिङ, २५ डिग्रिको अकालोमा उक्लन सक्ने क्षमता, १३ इन्चको अलोय ह्वील, ट्यूवलेस टायर, हिल एसिस्ट कन्ट्रोल जस्ता फिचर समान रहेका छन् ।

डेरी इभी७ मा १० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ भने इ८ मा ७ इन्चको उपलब्ध रहेको छ । दिगो इ८ फ्रन्ट ह्वील ड्राइभ र डेरी इभी–७ रियर ह्वील ड्राइभ सिस्टम जडान भएको कार हो ।
मूल्यमा फरक
डेरी इभी७को मूल्य १९ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यसैगरि दिगो इ८ को मूल्य २१ लाख ४९ हजार ५०० रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ ।


