काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेबाट लाइसेन्सको लिखित र ट्रायल परिक्षा लिनेगरि तयारी सुरु गरेको छ । अहिले जारी भएको निषेधाज्ञा असार अन्तिमसम्ममा खुल्ने अनुमान सहित साउन १ गतेबाट परिक्षा संचालन गर्ने तयारी गरेको हो ।
लामो निषेधाज्ञाले गर्दा यसअघि अनलाइन फारम भरेका र ट्रायल दिने तयारी गरेर बसेका सेवाग्राहीले पनि आफ्नो परिक्षा दिन आएका छैनन् ।
‘निषेधाज्ञा खुल्ला भएसँगै लाइसेन्स परिक्षा संचालनको तयारी गरेका छौं । त्यसको लागि कस्तो अवस्था आउँछ त्यो हेर्नु बाहेक अर्को विकल्प छैन’, विभागका महानिर्देशक नमराज घिमिरेले मेरोअटोसँग भने ।
विभागले त्यसको अलावा साउन १ गतेबाट नै सात वटै प्रदेशसँगको सहकार्यमा भिआरएस लागु गर्ने पनि तयारी गरेको महानिर्देशक घिमिरेले जानकारी दिए ।
विभागले सवारी चालक अनुमति पत्र सम्बन्धी नयाँ निर्देशिका तयार गरिसकेकाले अब हुने लाइसेन्सको परिक्षामा विद्यार्थीले १०० पूर्णाङ्कमा ७० अंक ल्याउन सके पास हुने व्यवस्था गरेको छ ।
नयाँ निर्देशिका अनुसार परिक्षा र ट्रायल दिने धेरै विद्यार्थी उत्रिण हुने विभागले विस्वास लिएको छ ।
लाइसेन्स छपाई अझै सुरु भएन
यातायात व्यवस्था विभागको सफ्टवयरमा समस्या आएकाले ट्रायल उत्रिण गरेका र नविकरणको लागि दिइएको करिब ४ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको विभागले जनाएको छ ।
‘एक हप्ता भित्र सफ्टवयरको समस्या समाधान गरेर नयाँ लाइसेन्स छपाईको काम अगाडि बढाउने तयारी गरेका छौं । कार्ड आयात गर्ने काम पनि अगाडि बढेको छ । चिप्सको सट्टा ‘वारकोण’ प्रयोग गरेर नयाँ लाइसेन्स छाप्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । यदि वारकोण राखेर छाप्ने निस्कर्ष निस्कियो भने त्यसले निकै खर्च घटाउने छ’, महानिर्देक घिमिरेले मेरोअटोसँग भने ।


