काठमाडौं । जापानी मोटर उत्पादक कम्पनी होन्डाले १५० सीसी क्षमताको नयाँ रेट्रो डिजाइनको मोटरसाइकल इन्डोनेशियामा सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ‘सिबी १५० भर्जा’ रेट्रो डिजाइन मोटरसाइकल हो । ग्राहकले यसमा स्पोक र अलोय ह्वीलगरि दुई अप्सन पाउने छन् ।
यामाहाले १५० सीसी क्षमताको एफजेड एक्स १५० भारतमा सार्वजनिक गरेको दुई दिनपछि नै होन्डाले त्यहि सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । इन्डोनेशियामा सिबी १५० भर्जाको स्पोक ह्वील भेरियन्टको मूल्य करिब १ लाख ६६ हजार ४०० र अलोय ह्वील भेरियन्टको १ लाख ७१ हजार नेपाली रुपैयाँ हाराहारी कायम गरेर विक्री सुरु गरेको हो ।
होन्डाको सिबी १५० आरको रेट्रो भर्सनको रुपमा बजारमा आएको यो मोटरसाइकलमा राउन्ड हेडल्याम्प, सिंगल पिस सिट, अपराइट पोजिसनमा ह्याण्डलबार, सिंगल पिस ग्राबरेल, व्ल्याक फ्रन्ट फेन्डर, व्ल्याक अलोय ह्वील, ग्रे कलरको इन्जिन एरिया पाउन सकिन्छ ।
पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हेलोजिन हेडल्याम्प, आकर्षक टर्न सिग्नल लाइट, १२.२ लिटर क्षमताको इन्धन ट्याङ्क उपलब्ध रहेको छ ।
कम्पनीले यसमा १४९.१५ सीसी क्षमताको पिजिएम-एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा १३.२ बीएच पावर प्रदान गर्छ । यसको टर्क क्षमता भने १२.७३ एनएम रहेको छ ।
होन्डाले सिबी १५० भर्जामा अगाडि टेलिस्कोपिक र पछाडि एड्जस्टेवल ड्यूल सस्पेन्सन दिएको छ । योसँगै होन्डाले इन्ट्री लेवल रेट्रो मोटरसाइकलको रुपमा यसलाई बजारमा उतारेको हो ।

