काठमाडौं । ग्रेटवाल मोटर्सका उत्पादन काठमाडौं आइपुगेको छ । नेपाली बजारमा करिब एक दशकपछि ग्रेटवालले पुनः आफ्नो विक्री सुरु गर्न लागेको हो । त्यसको लागि विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स प्रालि आधिकारीक वितरक नियुक्त भएको छ ।

कम्पनीले काठमाडौंको थापाथलीमा शोरुम निर्माण गरेर निषेधाज्ञा खेलेसँगै ग्रेटवाल ब्राण्डलाई नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ग्रेटवाल मोटर्सको अर्को ब्राण्ड हावलका एसयूभी पनि काठमाडौं आइपुगेको छ ।
कम्पनीले नेपाल ल्याएको तीन मोडलमा हाभल जोलीयन र एच सिक्स एसयूभी हो भने पोयर पीकअप हो ।

हावल जोलीयनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १४० हर्स पावर र २१० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल तथा ७ स्पीड डिसीटी अटोमेटिक गियरबक्स रहेको छ । यसको अनुमानित मूल्य ५५ देखि ६० लाख रहने अनुमान गरिएको छ ।

कम्पनीले ल्याएको अर्को एसयूभी हाभल एच सिक्स हो । यस एसयूभीमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम २२४ हर्सपावर तथा ३८५ एनएम टर्क उत्पादन गर्छ । यसमा ९ स्पीडको ड्यूल क्लच ट्रान्समिसन दिइएको छ । यसको मूल्य करिब ९० लाख पर्ने अनुमान गरिएको छ ।

ग्रेटवाल पोयर पीकअप पनि काठमाडौं आएको छ । यस पीकअपमा २.० लिटरको टर्बो चार्ज्ड डिजल इन्जिन रहेको छ । जसले १६० हर्स पावर तथा ४०० एनएम टर्क उत्पादन गर्छ । यसको मुख्य आकर्षण सनरुफ समेत हो ।

