नेपालमा स्कोडा कुशकको बुकिङ खुल्ला, एक लाख तिरेर बुकिङ गर्न सकिने

काठमाडौं । स्कोडाको बहुप्रतिक्षित एसयूभी कुशकको मूल्य भारतमा सार्वजनिक भएलगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालमा पनि बुकिङ खुल्ला गरेको छ । साउनबाट नेपालमा विक्री सुरु गर्ने योजना सहित कुशकको बुकिङ खुल्ला गरेको कम्पनीले जनाएको हो । यसलाई बुकिङ गर्न चाहने ग्राहकले १ लाख रुपैयाँ तिरेर बुक गर्न सक्नेछन् ।

कुशक स्कोडाको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयूभी हो । नेपालमा १.० लिटरको टिएसआई पेट्रोल इन्जिन भएका कुशक आउने कम्पनीले जनाएको छ । उक्त इन्जिनले ११५ बीएचपी पावर र १७ ८ एनएम टर्क उत्पन्न गर्छ । कुशक म्यानुयल र अटोमेटिक दुवै गियरबक्समा उपलब्ध हुनेछ ।

कुशक एमक्युबी एओ आईएन प्लेटफर्ममा निर्माण एसयूभी हो । खराब सडकमा पनि राम्रो पर्फमेन्स गर्न सक्ने कुशकको लम्बाई ४२२५ एमएम, चौडाई १७६० एमएम र उचाई १६१२ एमएम रहेको छ । साथै, यसको ह्वीलबेस २६५१ एमएम छ, जुन सेग्मेन्टकै सबैभन्दा बढी हो । कुशकको ग्राउन्ड क्लेरेन्स भने १८८ एमएम रहेको छ ।

नयाँ कुशकमा टु-स्पोक स्टेरिङ ह्वील, इलेक्ट्रीक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, किलेस इन्ट्रि स्टार्ट एन्ड एक्जिट सिस्टम जस्ता फिचर हुनेछन् ।

सुरक्षाका लागि कुशकमा ६ वटा एयरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटोहेडल्याम्प एन्ड वाइपर, मल्टि कोलिजन ब्रेकिङ सिस्टम टायर प्रेसर मनिटरिङ र हिल्ड होल्ड कन्ट्रोल, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहनेछ ।

नयाँ कुशक तीन भेरियन्ट एम्बिसन, एक्टिभ र स्टाइलमा नेपाल आउने छ । साथै यसमा क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलर अप्सन उपलब्ध हुनेछ ।

भारतमा १० लाख ५० हजारदेखि १७ लाख ६० हजार भारुसम्म मूल्य राखिएको नयाँ कुशकको मूल्य नेपालमा ५० देखि ६५ लाख रुपैयाँको बीचमा रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top