हुन्डाईले कम मूल्यको इलेक्ट्रीक कार ल्याउने

काठमाडौं । कोरियन कार उत्पादक हुन्डाई मोटर्सले भारतमा कम मूल्यको इलेक्ट्रीक कार बनाउने घोषणा गरेको छ । कम्पनीले धेरै मानिसको पहुँचमा विद्युतीय कार पुर्याउन कम मूल्यको कार ल्याउन लागेको हो ।

‘भारतमा नै सबै किसिमको पार्टस् उत्पादनको लागि केही समय लाग्ने हुँदा सरकारले अहिले लगाई रहेको करमा केही कमी गर्ने हो भने ग्राहकलाई विद्युतीय कारमा बानी पार्न सजिलो हुन्छ । त्यसपछि १०० प्रतिशत स्थानीय उत्पादनमा विद्युतीय कार बनाउन सकिन्छ’, हुन्डाई मोटर्स इन्डियाका प्रबन्ध निर्देशक एसएस किमले भने ।

हुन्डाईले भारतीय बजारमा भेन्यू इलेक्ट्रीक ल्याउने तयारी गरिरहेको यसअघि बाहिर आएको समाचारलाई किमको भनाईले केही हदसम्म पुष्टी गर्छ । साथै, कम्पनीले ल्याउने तयारी गरिरहेको नयाँ माइक्रो एसयूभी पनि इलेक्ट्रीक भर्सनमा पनि आउने अनुमान गरिएको छ । तर, कम्पनीका प्रबन्ध निर्देशकले कुन मोडल आउँदै छ भन्ने विषयमा कुनै जानकारी दिएका छैनन् ।

हुन्डाईले आयोनिक ब्राण्ड नेममा इलेक्ट्रीक गाडी उत्पादनलाई तिव्रता पनि दिइरहेको छ । कम्पनीले उत्पादन गरेको प्रिमियम एसयूभी आयोनिक ५ चाँडै नेपाली बजारमा पनि आउने अपेक्षा गरिएको छ ।

हुन्डाई आयोनिक सेडान र कोना एसयूभी अहिले पनि नेपाली बजारमा विक्री वितरण हुँदै आएको छ । यस्तोमा कम्पनीले ल्याउने कम मूल्यको कुनैपनि इलेक्ट्रीक गाडी नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top