रेनो काइगरको मासिक किस्ता २१ हजारदेखि २९ हजार

काठमाडौं । रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइल कम्पनी प्रालिले रेनो काइगरको मिडिया ड्राइभ सम्पन्न गरेको छ । काठमाडौंको टेकुबाट सुरु भएको ‘राइड विथ काइगर’ कार्यक्रम धुलिखेलमा गएर सकिएको थियो ।

काइगर नेपाली बजारमा दुई गियरबक्स अप्सनमा उपलब्ध गरहेको छ । जसमा म्यानुयल र एएमटी रहेको छ । ड्राइभिङको क्रममा जति म्यनुयल गाडी स्मुथ छ त्यति एएमटी पाइएन । तर, पनि गाडीको साइज, फिचर र मूल्यको आधारमा काइगर उत्कृष्ट सब फोर मिटर एसयूभीको रुपमा लिनु पर्छ ।

फ्रेन्च निर्माता रेनो साना र माइलेजको लागि उत्कृष्ट कार बनाउने कम्पनी मानिन्छ । यस्तोमा कम्पनीले ल्याएको पहिलो सब फोर मिटर काइगर पनि निकै आकर्षक देखिन्छ भने यसलाई किन्न ग्राहकले ह्याचव्याकको जति नै रकम खर्च गर्दा पुग्छ ।

रेनो काइगरको आरएक्सई भेरियन्ट सबैभन्दा सस्तो मोडल हो । यसको मूल्य २८ लाख ४९ हजार रुपैयाँ तोकेर कम्पनीले विक्री गर्दै आएको छ । यो एसयूभी किन्न चाहने ग्राहकले अनिर्वाय ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्छ भने बाँकी रकम बैंकबाट कर्जा सुविधा लिन सक्ने छन् ।

अहिले बैंकले औषतमा ७.५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् । यसरी बैंकबाट कर्जा सुविधा लिदाँ मासिक किस्ता २१ हजार ८४९ रुपैयाँ ७ वर्षसम्म तिर्नेगरी लिन सकिन्छ । तर, यसको टप स्पेश आरएक्सजेड अटोमेटीक (एएमटी) किन्न चाहने ग्राहकले भने मासिक २९ हजार रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ । यसको मूल्य ३७ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले विक्री गर्ने आरएक्सल म्यानुयल भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको मासिक किस्ता २३ हजार पर्छ । त्यसैगरी आरएक्सएल एएमटी भेरियन्टको मूल्य ३१ लाख ६९ हजार तोकिएको छ । यसलाई ५० प्रतिशत कर्जा लिएर किन्ने ग्राहकले ७ वर्षसम्म मासिक २३ हजार ३०० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

काइगरको आरएक्सटी म्यानुयल भेरियन्टको मूल्य ३२ लाख ९९ हजार निर्धारण गरेर विक्री गर्दै आएको छ । यसलाई किन्न चाहने ग्राहकले ७ वर्षसम्म मासिक २५ हजार ३०० रुपैयाँ किस्ता बुझाउनु पर्ने हुन्छ । साथै, आरएक्सटी अटोमेटिक किन्न चाहने ग्राहकले भने मासिक २६ हजार ६०० रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसको मूल्य ३४ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

काइगर आरएक्सजेड म्यानुयल भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसलाई किन्न चाहने ग्राहकले मासिक २७ हजार ६०० रुपैयाँ किस्ता वापत बुझाउनु पर्छ ।

माथि उल्लेख गरिएको मासिक किस्ता वापतको रकम अनुमानित हो । यसमा विक्रेताले दिने छुट लगायतको विषय छुट्टाइएको छैन । साथै, कम्पनीको नाममा ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुने हुँदा मासिक किस्ता धेरै तिर्नु पर्ने हुन्छ ।


Back_to_top