काठमाडौं । नेपाली बजारमा कम्प्याक्ट सेडान कार खोज्ने ग्राहकहरुका लागि हुन्डाईको अउरा र टाटा टिगोर उत्कृष्ट विकल्प हुन् । टाटा टिगोर धेरै वर्ष अगाडिबाट नेपाली बजारमा उपलब्ध रहेको छ भने हुन्डाई अउरा गत वर्षवाट मात्र नेपाल आएको हो ।
हुन्डाईले एक्सेन्टको स्थानमा अउरा ल्याएको हो भने टिगोर फेसलिफ्ट मोडल विक्री हुँदै आएको छ । नयाँ प्रदुषण मापदण्ड अनुसारको इन्जिनमा उपलब्ध दुबै कार पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ ।
कम्प्याक्ट सेडान सेग्मेन्टमा विक्री हुँदै आएका यी दुबै गाडीमा धेरै समान फिचर ग्राहकले पाउन सक्ने छन् ।
साइज
सब फोर मिटर आकारमा बनेको दुबै कारको लम्बाई ४ मिटरभन्दा कम रहेको छ । टाटा टिगोरको लम्बाई ३९९३ एमएम रहेको छ भने हुन्डाई अउराको लम्बाई ३९९५ एमएम रहेको छ । चौडाई पनि औराको १६८० एमएम तथा टिगोरको १६७७ एमएम रहेको छ ।
उचाईमा भने टाटा टिगोरको केही बढी रहेको देखिन्छ । टिगोरको उचाई १५३२ एमएम तथा अउराको उचाई १५२० एमएम रहेको छ । यी दुबै कारमा समान २४५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

बुट स्पेस पनि लगभग समान रहेको छ । टिगोरमा ४१९ लिटर र अउरामा ४०२ लिटर क्षमताको बुट स्पेश पाउन सकिन्छ । ५ सिट क्षमताका दुबै कारको ग्राउन्ड क्लियरेन्स अउरामा १६५ एमएम र टिगोरमा १७० एमएम रहेको छ ।
इन्जिन
यी दुबै कारमा इन्जिन पनि समान १.२ लिटरको पेट्रोल इन्जिन पाउन सकिन्छ । अउरामा ११९७ सीसीको कप्पा ड्यूल ४ सिलिण्डर इन्जिन रहेको छ । टाटाले टिगोरमा ११९९ सीसीको ३ सिलिण्डरको रेभोटर्न इन्जिन दिएको छ ।
यी दुबै इन्जिन मध्ये पावरको तुलना गर्दा टिगोर केही अगाडि देखिन्छ । टिगारमा रहेको रेभोटर्न इन्जिनले ६ हजार आरपीएममा ८४.४८ बीएच पावर जेनेरेट गर्छ भने अउरामा रहेको कप्पा इन्जिनले ६ हजार आरपीएममै ८१.८६ बीएच पावर उत्पादन गर्छ । दुबै कारको इन्जिनले टर्क भने समान ११३ एनएम रहेको छ । अउरामा फोर सिलिण्डर इन्जिन भएकोले यो बढी ‘स्मुथ’ रहेको छ ।

दुबै कारमा ५ स्पीड म्यानुयल गियरबक्स पाउन सकिन्छ । हुन्डाई अउरामा ३७ लिटर र टिगोरमा ३५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ । दुबै कारको माइलेज पनि समान रहेको छ ।
सुरक्षा फिचर
दुबै कार नयाँ प्रदुषण मापदण्ड अनुसारको भएकाले दुई एयरव्याग, इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम रहेका छन् ।
मूल्य
नेपाली बजारमा हुन्डाई अउराको एस भेरियन्ट मात्र नेपालमा उपलब्ध गरेको छ यसको मूल्य ३४ लाख ९६ हजार तोकेर लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले विक्री गर्दै आएको छ ।
टाटाको टिगोर भने नेपालमा एक्सई, एक्सएम, एक्सएमए र एक्सजेड गरी चार भेरियन्टमा उपलब्ध रहेको छ । टिगोरको मूल्य २८ लाख ९९ हजारबाट सुरु भई ३३ लाख ५ हजारसम्म रहेको छ ।

